काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७, चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६, सतुङ्गल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका–३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुरको च्यासल बस्ने काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र महानगरपालिका–६, चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा छापा मार्दा २ हजार ७ सय ७० थान विद्युतीय चुरोट ९भेप० फेला पारेको जनाएको छ । भेपसहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।