विराटनगर । मोरङमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब ७ हजार वटा बोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार राति २ः५० बजे मोरङको सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा चल्ला नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टीबाट खटिएको टोलीले चल्ला बरामद गरेको हो।
धान खेतको आली प्रयोग गरी १४ वटा भारमा ल्याइँदै गरेका १४० कार्टुनमा रहेका ७ हजार वटा बोइलर चल्ला बरामद गरिएको भण्डारीले जानकारी दिए। बरामद चल्लाको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरूले चल्ला छाडेर भारततर्फ फरार भएका थिए। बरामद गरिएका चल्ला बीओपी सिक्टीमा ल्याई राखिएको र आवश्यक प्रक्रिया पूरा गरी थप कारबाही अघि बढाइने एसपी भण्डारीले जानकारी दिए ।