विराटनगर । सुनसरी प्रहरीले ठूलो रकमको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरज प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार विभिन्न व्यक्ति तथा फर्मका बैंक खातामार्फत अस्वाभाविक रूपमा ठूलो रकम कारोबार भएको देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनीहरूमार्फत रु १ अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३४० रुपैयाँ बराबरको हुण्डी कारोबार भएको खुलेको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको बताए ।
प्रहरीले अदालतबाट अनुमति लिएर उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको उनले जनकारी दिए ।