काठमाडौं । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ८:१५ बजे को १ ज २४९४ नम्बरको सुमो दुर्घटना भएको हो।

प्रहरीका अनुसार काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको सुमो ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ निवासी अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा टोली खटिएको थियो। प्रहरीले घाइते १० जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।
घाइतेहरू:
१. धनकुटा न.पा.-९ गुठीटार बस्ने अन्दाजी ३१ वर्षीय चालक खगेन्द्र खत्री-अवस्था मध्यम ।
२. छथरजोरपाटी गा.पा.-४ बस्ने अन्दाजी ४० वर्षीया धनमाया राई-अवस्था मध्यम ।
३. निजकै छोरा अन्दाजी ७ वर्षीय न्युहाङ सुब्बा-अवस्था मध्यम ।
४. छथरजोरपाटी गा.पा.-४ बस्ने अन्दाजी ३३ वर्षीया पुनम लिम्बु-अवस्था सामान्य ।
५. निजकै छोरी अन्दाजी २ वर्षीया आरध्या लिम्बु-अवस्था मध्यम ।
६. छथरजोरपाटी गा.पा.-४ बस्ने अन्दाजी २६ वर्षीय आइन्द्र लिम्बु-अवस्था मध्यम ।
७. छथरजोरपाटी गा.पा.-३ बस्ने अन्दाजी २७ वर्षीय भवानी लिम्बु-अवस्था मध्यम ।
८. छथरजोरपाटी गा.पा.-३ बस्ने अन्दाजी ४७ वर्षीय हेमबहादुर लिम्बु-अवस्था मध्यम ।
९. छथरजोरपाटी गा.पा.-४ बस्ने अन्दाजी ३० वर्षीय अबिन लिम्बु-अवस्था मध्यम ।
१०. छथरजोरपाटी गा.पा.-३ बस्ने अन्दाजी २१ वर्षीय आशिष लिम्बु-अवस्था गम्भीर ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।