काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
जलवायु परिवर्तन र त्यसबाट भइरहेको प्रभावलाई ध्यानमा राख्दै वर्तमान आवश्यकताअनुसार शाखा स्थापना गर्ने निर्णय गरिएको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।

मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनामा उक्त शाखा रहने व्यवस्था गरिएको हो।
नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएको छ। यही प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ। परराष्ट्रमन्त्री खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन वा अन्य कार्यक्रममा सहभागिता जनाउनुमै सीमित हुँदा जलवायु कूटनीतिको सामर्थ्य वृद्धि नहुने उनको भनाइ छ।