Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गर्दै रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका ९ स्थानीय तह साझा यातायातसँग सहकार्य गर्दै एउटै कार्यक्रममा आबद्ध भएका हुन्।

संविधान दिवसको अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै रात्रिकालीन बस सेवा विस्तार गरिएको हो। राति आवतजावत गर्ने सर्वसाधारण, श्रमिक, व्यवसायी, उद्यमी, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो यातायात उपलब्ध गराउने उद्देश्य राखिएको छ।

विस्तारित सेवाअन्तर्गत ६ वटा रुटमा ३० वटा बस सञ्चालन हुनेछन्। जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा, गोदावरी–लगनखेल–बूढानीलकण्ठ हुँदै ठमेल रुटमा ६ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ।

यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसमार्फत परीक्षण सेवा सञ्चालन गरिएको थियो। परीक्षणबाट प्राप्त अनुभवका आधारमा बसको संख्या र रुट विस्तार गरिएको हो।

रात्रिकालीन सेवा सञ्चालन गर्दा यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले खर्च नपुगेमा स्थानीय तहहरूले सहमति अनुसार खर्च बेहोर्ने व्यवस्था गरिएको छ। साथै, बस रोकिने तथा यात्रु चढ्ने–ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। ती स्थानमा डिजिटल साइनेज बोर्डसहितका डिजिटल बस स्टप निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।

चक्रपथमा सेवा विस्तार भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्नेछन्। यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ। टिकटमा हुने आर्थिक चुहावट रोक्न साझा यातायातले डिजिटल टिकेटिङ प्रणाली पनि अघि बढाएको छ, जसमा  क्युआर कोड वा नगद दुवै माध्यमबाट टिकट लिन सकिनेछ।

यसअघि सञ्चालन गरिएको सीमित रात्रिकालीन सेवाबाट विस्तार गर्दै उपत्यकाका थप क्षेत्रमा रातिसम्म सार्वजनिक यातायात उपलब्ध गराउने प्रयास गरिएको हो। साझा यातायातसँग हाल १११ वटा बस रहेको र त्यसमा नेपाल सरकार तथा काठमाडौं महानगरपालिकाको समेत सेयर लगानी रहेको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं