काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा रहँदा एउटा तस्बिर ‘भाइरल’ भयो । त्यो तस्बिर उनका समकक्षी एवं भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँगको भेटको थियो ।
त्यसक्रममा सीतारमण बसेको भागतर्फ भारतको झन्डा थियो । डा. वाग्लेतर्फ कुनै झन्डा थिएन । देशको प्रतिनिधित्व गरेर गएका मन्त्रीले भारतीय समकक्षीसँग भेट्दा नेपालको झन्डा नै नराखिएको विषयमा सामाजिक सञ्जाल हुँदै चौतर्फी प्रश्न उठाइँदै छ । उनी भारत भ्रमण सकाएर शनिबार (असोज ४) स्वदेश फर्किइसकेका छन् ।

आइतबार (असोज ४) वनस्थलीमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकमा डा. वाग्लेले भारत भ्रमण सफल र फलदायी भएको ‘ब्रिफिङ’ गरे । रास्वपा उपसभापति समेत रहेका उनले विवादित रूपमा प्रचार भइरहेको तस्बिर दुईपक्षीय भेटवार्ताको नभएर भारतीय वित्तमन्त्रीको कार्यकक्षमा गरिएको भेटको भएको बताएका पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
“जहाँसम्म झन्डाको कुरा गर्नुभएको छ, हाम्रै पार्टीका नेताहरूकोमा जानुभयो भने एउटा पार्टीको झन्डा छ, एउटा राष्ट्रिय झन्डा छ । प्रधानमन्त्रीकोमा जानुभयो भने त्यहाँ राष्ट्रिय झन्डा छ, स्वयम् अर्थमन्त्रीको कार्यकक्षमा जानुभयो भने त्यहाँ राष्ट्रिय झन्डा पाउनुहुन्छ, अरू देशको झन्डा त पाइँदैन नि !,” खरेलले भने ।
उनले अगाडि भने, “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यहाँ (भारत) एउटा भारतीय झन्डा मात्रै भयो भन्नुभएको छ, त्यो त्यहाँको अर्थमन्त्रीको कार्यकक्षमा भेट भएको हो ।”
त्यो प्रतिनिधिमण्डलसहितको दुईपक्षीय भेटवार्ता नभएको खरेलले बताए । “डेलिगेट्ससहितको भेटघाट अर्कै कोठामा थियो । भारतीय वित्तमन्त्रीसँग एकैछिन बस्दै गर्दा त्यो फोटो आएको हो,” उनले भने, “अब हाम्रै अर्थमन्त्रीको कोठामा गएर हेर्यो भने त राष्ट्रिय झन्डा मात्र देखिन्छ नि, अरू देशको झन्डा त देखिँदैन नि !”
उनले दुईपक्षीय भेटवार्तामा भने दुवै देशको झन्डा हुनैपर्ने बताए । “अहिले नेपालको झन्डा भएन भनेर फोटो आइरहेको छ, त्यो भारतीय वित्तमन्त्रीको कार्यकक्ष हो,” उनले थपे, “कार्यकक्षमा उहाँहरू केही समय सामान्य कुराकानी गर्न बस्नुभएको थियो ।”
उनले दुईपक्षीय वार्तामा पर्याप्त मात्रामा दुवै पक्षका झन्डाहरू रहेको बताए । अर्थमन्त्रीको भ्रमणका बहुआयामिक राम्रा पक्ष रहेको पनि उनले जिकिर गरे ।