काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। विधेयकले विद्यार्थीमा देशप्रेम, अनुशासन र स्वयंसेवाको भावना विकास गर्ने तथा आवश्यकताअनुसार अन्य नागरिकलाई समेत तालिम दिन सक्ने व्यवस्था गरेको छ।
विधेयकले बहालवाला सैनिक अधिकारीले मात्र तालिम दिनुपर्ने व्यवस्था हटाएको छ। राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाशप्राप्त उपरथी नियुक्त हुने व्यवस्था गरिएको छ। सरकारले तालिम प्राप्त व्यक्तिलाई राष्ट्रिय आवश्यकताअनुसार स्वयंसेवकका रूपमा परिचालन गर्न सक्नेछ।

यस्तो परिचालनको जानकारी संघीय संसद्का दुवै सदनलाई दिनुपर्ने व्यवस्था पनि विधेयकमा छ। प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट आवश्यक प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रूपमा कार्यान्वयन हुनेछ।