काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा अहिलेका लागि टरेको एमालेकै नेताहरूले बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा ओलीले गरेकाे सम्बाेधनमा बताइएकाे कुराले पनि याे पुष्टि गर्छ ।

उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समीक्षा र विश्लेषण गरेर मात्र नपुग्ने उल्लेख छ । उनको यसअघि राजीनामाको विषय उठाइएको भए पनि प्रतिवेदन भने मौन रहेको छ । उनीनिटक नेताहरूले अब ओलीको राजीनामा अहिलेका लागि टरेको बताएका छन् ।
ओलीले प्रतिवेदनमा कार्यभारका रूपमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाको विषय उल्लेख गरेका छन् । “संसद्, न्यायपालिका, संवैधानिक निकाय, प्रेस, नागरिक स्वतन्त्रता, ट्रेड युनियन, विद्यार्थी संगठन र संघीय संरचनासहित लोकतन्त्रका संस्थाको रक्षा एमालेको प्रमुख जिम्मेवारी हुनेछ,” प्रतिवेदनमा उल्लेख छ, “संवैधानिक प्रक्रियाको पुनर्स्थापना र विधिको शासनका पक्षमा आवश्यक राजनीतिक तथा कानुनी संघर्ष जारी राख्नुपर्छ ।”
उनले ०८२ भदौ २३ र २४ गतेपछि विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा दिएको मुद्दा अझै विचाराधीन रहेको पनि उल्लेख गरेका छन् ।
उनले लोकतन्त्रको पुनर्स्थापनाका निम्ति ‘निर्णायक’ आन्दोलन गर्न तयार रहनुपर्ने बताएका छन् । “लोकतन्त्रको पुनर्स्थापनाका लागि हामी निर्णायक आन्दोलनका निम्ति तयार रहनुपर्छ । त्यसका लागि पहिलो आवश्यकता पार्टीभित्र सुदृढ आन्तरिक एकता निर्माण गर्नु हो,” प्रतिवेदनमा भनिएको छ ।
सहज ढंगले प्राप्त हुन नसके जनबलका आधारमा न्याय स्थापना गर्न तयार रहनुपर्ने उनको भनाइ छ । “यस राष्ट्रिय उद्देश्यमा सहमत हुन सक्ने सबै शक्ति, समूह र व्यक्तिसँग सहकार्य गर्दै आन्दोलनलाई अगाडि बढाउनुपर्छ,” उनले भनेका छन्, “आज हाम्रो काँधमा रहेको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कार्यभार यही हो र नेकपा (एमाले)ले यही स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ ।”
दोस्रो कार्यभारका रूपमा ओलीले स्थानीय तह निर्वाचनलाई दर्साएका छन् । “स्थानीय तहको निर्वाचनसहित आगामी सबै निर्वाचनका लागि पार्टी अहिलेबाटै योजनाबद्ध तयारीमा लाग्नुपर्छ । विगतको पराजयको गम्भीर समीक्षा गर्दै प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडासम्म वास्तविक संगठनात्मक अवस्थाको मूल्यांकन गर्नुपर्छ,” उनले भनेका छन्, “त्यसको आधारमा जितको सुनिश्चितताका लागि सबै प्रकारको तयारी गर्नु यति बेलाको दोस्रो कार्यभार हो ।”
यी दुई कार्यभार पूरा गर्नुपर्ने १५ काम समेत ओलीले उल्लेख गरेका छन् ।