भोजपुर । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुनेछ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले अभियानका लागि खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै स्थानीय तहमा परिचालन गरिएको जानकारी दिए। उनका अनुसार अभियान सुरु हुनुअघि ७६ जना खोपकर्तालाई ‘खोप अभिलेखीकरण’सम्बन्धी सफ्टवेयर सञ्चालनका लागि एकदिने तालिमसमेत प्रदान गरिएको छ।

“भोजपुरमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। यस अभियानका लागि ६१ हजार डोज खोप प्राप्त भएको छ,” प्रमुख दाहालले भने, “किसानकै गोठमा पुगेर पशुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ।”
रोग नियन्त्रणसँगै पशुजन्य उत्पादन वृद्धि तथा पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको दाहालले बताए। अभियानबाट ग्रामीण क्षेत्रका किसानले सहज र सुलभ रूपमा पशु स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
विज्ञ केन्द्रका अनुसार पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि दोस्रो चरणको कार्यक्रमसमेत सञ्चालन गरिनेछ। भोजपुरका अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारसम्बन्धी पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएका छन्।
अभियानका क्रममा पशुमा लाग्ने रोग, त्यसको रोकथाम तथा उपचारबारे किसानमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने प्रमुख दाहालले बताए।
खोप अभियानले पशुमा खोरेत रोगको नियन्त्रणसँगै पशुजन्य उत्पादन वृद्धि गर्न, किसानको आर्थिक अवस्था सुधार गर्न तथा रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा विज्ञ केन्द्रले गरेको छ।