झापा । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आइतबारदेखि खोप अभियान सुरु भएको हो । पहिलो दिन ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जनाले खोप लगाएका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
प्रमुख दासले पहिलो दिनको खोप अभियान उत्साहजनक रूपमा अघि बढेको बताए । लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने गरी स्थानीय तह र स्वास्थ्य संस्थासँगको समन्वयमा अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएको छ । तीमध्ये सात जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए ।
जेईविरुद्धको खोप अभियानका लागि जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरिएको छ । अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।