काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरिएको छ।
केन्द्रीय समितिले गरेको अध्ययनअनुसार पहिचान गरिएका जग्गाको कुल क्षेत्रफल ३ हजार २७९ रोपनी २ पैसा छ। रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको हो।

क्षेत्रफलका आधारमा नुवाकोटमा २ हजार ६६५ रोपनी, रसुवामा ५९१ रोपनी र धादिङमा २२ रोपनीभन्दा बढी जग्गा पहिचान गरिएको छ। समितिले उच्च प्राकृतिक जोखिम भएका स्थानमा पुनर्स्थापना नगर्न र सुरक्षित, गैरवन तथा गैरसंरक्षित क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिएको छ। साथै सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य र सञ्चारसहित एकीकृत बस्ती विकासको योजना बनाउन सिफारिस गरिएको छ।
पहिचान गरिएका जग्गाको थप प्राविधिक, वातावरणीय तथा सामाजिक अध्ययन र स्थानीय परामर्शपछि मात्रै अन्तिम निर्णय लिन समितिले सुझाव दिएको छ।