झापा । झापा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ। गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटना दोब्बरभन्दा बढीले वृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा उक्त सङ्ख्या बढेर ८८ पुगेको छ। दुर्घटनामा परी साउनमा १२ जनाको मृत्यु भएकोमा भदौमा चार जनाले ज्यान गुमाएका छन्।

साउनमा ४० जना घाइते भएकामा भदौमा घाइते हुनेको सङ्ख्या बढेर १३५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
प्रहरीका अनुसार दुवै महिनामा भएका सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ। साउनमा भएका ३९ दुर्घटनामध्ये ३० वटा तथा भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ वटा चालकको लापरबाहीका कारण भएका थिए।
यात्रुको हेलचेक्र्याइँ, सडकको अवस्था, सवारीसाधनको अवस्था तथा चौपायाका कारण पनि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौ महिनामा ९५६ वटा सवारीसाधन जाँच गरेको थियो।
सो क्रममा २ हजार २३२ वटा सवारीसाधन कारबाहीमा परेका थिए। कारबाहीबाट २३ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।