काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारदेखि रातिको समयमा समेत यात्रा नगर्न आग्रह गरेको हो। यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन पनि महासंघले आफ्ना सदस्य व्यवसायीलाई सचेत गराएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो। सोहीअनुसार यातायात सेवा सञ्चालन गर्न महासंघले सदस्य व्यवसायीलाई अनुरोध गरेको हो।
यस साता निरन्तर वर्षा हुने र त्यसका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले समेत सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।