काठमाडौं । नेपाली टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र तेस्रो स्थानबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम छ।
नेपाली पुरुष टोलीले पछिल्लो समय टी–२०आई खेलेको छैन। दीपेन्द्रभन्दा तल रहेका इंग्ल्यान्डका विल ज्याक्सले हालै श्रीलंकाविरुद्धको टी–२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन्। त्यससँगै दीपेन्द्र चौथोमा झरेका हुन्।

नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सको क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा खेलाडीले गर्ने प्रदर्शनका आधारमा आगामी वरियतामा फेरबदल हुन सक्नेछ।
अलराउन्डरतर्फ जिम्बाबेका सिकन्दर राजा ३२१ रेटिङ अंकसहित शीर्ष स्थानमा यथावत् छन्। पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा छन् भने अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौं स्थानमा छन्।