गोरखा । प्रतिकूल मौसमका कारण सन् २०२६ को शरदकालीन मनास्लु आरोहण सिजन औपचारिक रूपमा टुंगिएको छ। निरन्तरको हिमपात, वर्षा र तीव्र हावाका कारण अधिकांश आरोही शिखर आरोहण नगरी आधार शिविरबाट फर्किएका छन्।
सातोरी एडभेन्चर्स प्रालिका फुर्ते शेर्पाले खराब मौसमका कारण सुरक्षित रूपमा फर्कने निर्णय गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ।”

उनले मनास्लुमा रहेका अन्य आरोहीलाई पनि सुरक्षित रहन र परिस्थिति अनुकूल नभए फर्कन आग्रह गरेका छन्। “कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन। अर्को वर्ष भेटौँला, मनास्लु,” उनले लेखेका छन्।
मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पाका अनुसार तीव्र हावा र निरन्तर हिमपातका कारण पर्वतारोहीले शिखर आरोहणको योजना पुनरावलोकन गर्नुपरेको छ। क्याम्प–१ र क्याम्प–२ बाट समेत आरोहीहरू आधार शिविरमा फर्किएका छन्।
उनका अनुसार आउँदै गरेको मौसमी प्रणालीका कारण पहिले नै हिमपहिरोको जोखिममा रहेको मनास्लुमा थप हिउँ जम्मा हुने सम्भावना छ। यसैबीच, हिमालय समिट क्लबले पनि आफ्ना आरोहीलाई सुरक्षित रूपमा घर फर्काएको जनाएको छ। क्लबले महिनौँको तयारीपछि शिखर नपुगी फर्कन सहज नभए पनि हिमाल सधैँ त्यहीँ रहने भन्दै सुरक्षित रूपमा घर फर्कनुलाई नै महत्वपूर्ण उपलब्धि भएको बताएको छ।
क्लबले भनेको छ, “हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि। सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन। कहिलेकाहीँ सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो।” क्लबले मनास्लुले विनम्रता, धैर्यता र प्रकृतिप्रतिको सम्मानको पाठ सिकाएको उल्लेख गर्दै सन् २०२७ मा पुनः भेट्ने जनाएको छ।
क्याम्प–३ पुगेका आरोही पनि फर्किए
आरोही नाङ्स्याल छोदेनका अनुसार मनास्लुको क्याम्प–३ सम्म पुगेका आरोहीसमेत मौसम प्रतिकूल भएपछि शिखर नपुगी फर्किएका छन्। “यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुपर्यो। जीवन रह्यो भने हिमालले त पर्खन सक्छ,” उनले भने। उनका अनुसार अहिले मनास्लु आधार शिविरसमेत लगभग खाली भइसकेको छ।
“हामी केही आरोही र शेर्पाको टोली आधार शिविरमा टेन्ट निकाल्दै छौँ। अब हामी पनि सामागाउँ झर्ने तयारीमा छौँ,” उनले भने। छोदेनका अनुसार यो सिजनमा रोप फिक्सिङ गर्ने कार्यदलका केही सदस्यबाहेक अन्य आरोहीले मनास्लुको सफल आरोहण गर्न सकेनन्। क्याम्प–३ सम्म पुगेका आरोही मंगलबार आधार शिविर झरेका थिए भने बुधबार बिहानदेखि सामागाउँ फर्कन थालेका छन्। केही कम्पनीका आरोहीले अक्टोबरमा आरोहणको प्रयास गर्ने तयारी गरे पनि अधिकांश आरोही काठमाडौं फर्कने तयारीमा रहेको उनले बताए।
उद्धार कार्य जारी
मनास्लु आरोहणको तयारीमा रहेका अमेरिकी आरोही चार्ली एङ्गलले पनि धेरै मानिस हिमालबाट तल झरिरहेको बताएका छन्। उनका अनुसार केही आरोही अझै आफैँ तल आउन नसकेको र उद्धार कार्य जारी रहेको छ।
मौसमको अवस्था हेर्दा आगामी एक सातादेखि १० दिनसम्म पनि पर्खनुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्। अहिले आरोहीहरू मौसमको अवस्था नियाल्दै त्यसअनुसार आगामी निर्णय गर्ने तयारीमा छन्।
यसअघि सन् २०२२ को शरद ऋतुमा पनि प्रतिकूल मौसमका कारण सयौँ आरोही मनास्लु आरोहण नगरी फर्किएका थिए। निरन्तर वर्षा र हिमपातका कारण आरोहणका लागि अनुकूल वातावरण नबनेपछि यस वर्ष पनि त्यस्तै अवस्था दोहोरिएको हो।
यसै याममा पुनः आरोहणको सम्भावना न्यून
मनास्लु आधार शिविरमा रहेका प्रबल लामाका अनुसार हालको मौसममा सुधार आए पनि यसै याममा पुनः आरोहण गर्ने सम्भावना न्यून छ। “विभिन्न देशबाट आएका आरोहीमध्ये कसैको भिसा सकिएको हुन्छ। आफू मात्र गएर हुँदैन, सरसामान लैजानुपर्छ, गाइड र शेर्पा लैजानुपर्छ। त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन,” उनले भने।
सन् २०१२ देखि मनास्लु आउँदै आएका लामाले यस वर्षजस्तो भारी वर्षा र हिमपात आफूले यसअघि कहिल्यै नदेखेको बताए। सामागाउँका वीरबहादुर लामाका अनुसार मनास्लु आधार शिविरमा सामान्यतया धेरै वर्षा हुँदैन। तर पछिल्लो दुई सातादेखि निरन्तर वर्षा भइरहेको छ।
उनका अनुसार आधार शिविरबाट फर्किएका आरोहीका कारण अहिले सामागाउँका होटलहरू भरिभराउ छन्। केही आरोही मनास्लु सर्किट हुँदै पैदल फर्कने तयारीमा छन् भने अधिकांश हेलिकोप्टरमार्फत फर्किरहेका छन्।
पाँच फिटसम्म नयाँ हिउँ
उच्च हिमाली क्षेत्रमा मौसम द्रुत गतिमा परिवर्तन हुने भएकाले हिमपात, वर्षा, हावाको बेग र हिमालको अस्थिरता आरोहणसम्बन्धी निर्णयका महत्वपूर्ण आधार मानिन्छन्।
मनास्लु प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त हिमालका रूपमा चिनिन्छ। यसको आरोहण मार्गमा हिमखानी भएका भूभाग, क्याम्प–१ र क्याम्प–२ बीचको सक्रिय आइसफल तथा माथिल्लो क्षेत्रमा ठाडा भिरालो भाग र सेराक्स छन्।
केही दिनको अप्रत्याशित भारी हिमपातपछि मनास्लुमा करिब पाँच फिटसम्म नयाँ हिउँ जम्मा भएको बताइएको छ। यसले हिमालको अवस्था थप अस्थिर बनाएको छ। क्याम्प–३ र क्याम्प–४ बीचको मार्ग पनि हिमपहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ।
हालै गएको हिमपहिरोबाट डोरी टाँग्ने टोलीसमेत प्रभावित भएको छ। असोज ८ र ९ गतेदेखि नेपालमा अर्को ठूलो मौसमी प्रणाली प्रवेश गर्ने सम्भावना रहेकाले आरोहण कम्पनीहरूले यस यामको मनास्लु आरोहण प्रयास अन्त्य गर्ने निर्णय गरेका हुन्।
यस वर्ष ४९३ जनाले लिएका थिए आरोहण अनुमति
८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस वर्ष करिब पाँच सय विदेशी आरोहीले अनुमति लिएका थिए। उनीहरूको सहयोगका लागि करिब पाँच सय नेपाली उच्च हिमाली गाइड तथा सहयोगी कर्मचारी पनि मनास्लु क्षेत्रमा पुगेका थिए।
गत वर्ष ४१० जनाले मनास्लु आरोहणको अनुमति लिएका थिए भने यस वर्ष ४९३ जनाले अनुमति पाएका छन्। गत वर्ष विभिन्न ६७ देशका ४१ समूहका आरोहीबाट सरकारले २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
तर यस वर्ष प्रतिकूल मौसमका कारण ठूलो संख्यामा आरोहीले अनुमति लिएर पनि शिखर आरोहण गर्न सकेनन्। हिमाल आरोहणको लक्ष्यभन्दा सुरक्षित रूपमा घर फर्कने निर्णयलाई प्राथमिकता दिँदै आरोही, गाइड र सहयोगी टोलीहरू आधार शिविरबाट तल झरिरहेका छन्।