Lite Nepal

बुधबार, आश्विन ०७, २०८३

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थेबेले संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चित अवस्थामा छाड्न नहुने बताए । ‘जिम्मेवारी स्वीकार गर्नु भनेको मैदान छोड्नु होइन, घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो,’ उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको दस्तावेजको प्रशंसा गर्दै थेबेले त्यसलाई पार्टीको आगामी कार्यदिशाका लागि विस्तृत योजना भएको बताए । उनले दस्तावेजमा कार्यकर्ताका प्रश्न, समकालीन नेपाली समाज र राजनीतिका विषय, पार्टीका कार्यभार तथा भूराजनीतिक र अन्तर्राष्ट्रिय विषयलाई समेटिएको उल्लेख गरे ।

दस्तावेजको दृष्टिकोणलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सके एमालेलाई ठूलो र बलियो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ थियो । पार्टी निर्माणका लागि आलोचना मात्रै नभई स्पष्ट योजना, कार्यक्रम र कार्यदिशा आवश्यक रहेको उनले बताए ।

‘नेतृत्वको आलोचना गर्ने, पार्टीको आलोचना गर्ने र त्यसैलाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति हामीले कति दिनसम्म बोकेर हिँड्ने ?’ उनले प्रश्न गरे ।

नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरू विभाजन र विलयको अनुभवबाट गुज्रिएको उल्लेख गर्दै थेबेले अहिले पार्टीको ‘घर बनाउने समय’ भएको बताए । ‘नेतृत्वलाई खुइल्याएर नेता बन्ने प्रवृत्तिले घर बन्दैन, घर भत्काउने काम बन्द गरौँ,’ उनले भने ।

निर्वाचनका क्रममा पार्टीबाट टाढिएका व्यक्तिहरू पुनः फर्किन खोजिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई पार्टीमा फर्कने वातावरण निर्माण गर्नुपर्ने बताए । देशमा संकटको अवस्था सुरु भएको भन्दै उनले एमालेप्रति जनताको अपेक्षा बढिरहेको दाबी गरे ।

प्रवासी नेपालीको ठूलो समुदाय रहेको उल्लेख गर्दै थेबेले डायस्पोरामा रहेका करिब ५०–६० लाख नेपालीबीच एमालेको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए । नयाँ पुस्ता, प्रवासी नेपाली, युवा, उद्यमी र आम नागरिकका अपेक्षा सम्बोधन गर्ने गरी नयाँ सोच, ऊर्जा र कार्यशैलीसहित पार्टी पुनर्संगठन गर्नुपर्ने उनको सुझाव थियो ।

उनले ‘मिसन पार्टी जागरण अभियान’ र युवा इन्चार्जको जिम्मेवारी आफूले पूर्णरूपमा निर्वाह गरेको जानकारीसमेत बैठकलाई गराए । साथै, संविधानको रक्षा एमालेले गर्ने सन्देशसँगै भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणका लागि विशेष प्याकेज ल्याउनुपर्ने माग उनले बैठकसमक्ष राखे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं