काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले ९ अंकको अन्तरले खेल आफ्नो पक्षमा पारेको हो । यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले महिला कबड्डीमा कम्तीमा कास्य पदक पक्का गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ । १९औं एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।