काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेञ्चरमा गरेको लगानी बिक्री गर्नुपर्ने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिनमा झारेको छ।
राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउनेछन्। यसअघि यस्तो लगानी कम्तीमा ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो।

तर, नयाँ व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाले सञ्चालक समितिबाट लगानी नीति तथा कार्यविधि स्वीकृत गराउनुपर्नेछ। कार्यविधिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने उपकरण, जोखिम व्यवस्थापन, न्यूनतम तथा अपेक्षित होल्डिङ अवधि, लगानी सीमा, कारोबार रणनीति र नाफा तथा नोक्सानी नियन्त्रणको व्यवस्था समेट्नुपर्नेछ।
त्यस्तै, लगानीबाट उत्पन्न हुन सक्ने बजार, तरलता तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रणका साथै दबाब परीक्षण तथा नियमित रिपोर्टिङको व्यवस्था पनि गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै एक संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा आफ्नो प्राथमिक पूँजीको अधिकतम १० प्रतिशतसम्म तथा सबै संगठित संस्थामा गरी प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न सक्छन्। सम्बन्धित संस्थाको चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था पनि कायम छ।
नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई सेयर तथा डिबेञ्चर कारोबारमा थप लचकता दिएको छ। सरकारले अघि सारेको २१ बुँदे सेयर बजार सुधार कार्यक्रम कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले लगानीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको हो।