सुजता लिम्बू

शुक्रबार, आश्विन ०९, २०८३

विराटनगर । वर्षा भर्खरै थामिएको थियो । विराटनगर वर्षा र मन्द हावाले केही शीतल थियो । त्यही मौसममा कास्की–तनहुँको दमौलीदेखि आफैं कार चलाएर माओत्से गुरुङ विराटनगर ओर्लिए । मन्द मुस्कुराउँदै, ‘‘हाज’ विराटनगर शित्तल रहेछ, पहिले त गर्मी थियो ।’

उनको त्यो मुस्कान र विराटनगरको शित्तल अनुभुति गर्न उनी बाहेक पहिले आएका कलाकार थिएनन् । चलचित्र ‘पेन्सन पट्टा’ को प्रचारका लागि पूर्व निस्किएका उनको प्रचारको ठूलो तामझाम पनि थिएन । एउटै कार, आफैं चालक र एउटा चलचित्रको कथा बोकेर उनी सहर–सहर दौडिरहेका थिए ।

विराटनगरमा भेट्दा पनि उनलाई धेरैबेर रोकिने फुर्सद थिएन । एउटा हलमा चलचित्रबारे कुरा गरेपछि अर्को हल पुग्नुपर्ने हतारो थियो । गफैगफमा पेन्सन पट्टा को कथा कहाँबाट आयो ? भन्ने प्रश्नमा माओत्से केहीबेर आफ्नै परिवारतिर फर्किए । ‘मेरो हजुरबुवा भूतपूर्व लाहुरे हुनुहुन्थ्यो, म लाहुरे परिवारबाट आएको हुँ ।,’ उनले सुनाए ।

हजुरबुवा बितेपछि हजुरआमाले पेन्सन पाउन कठिनाइ भोग्नुपर्‍याे । नामका कारण पेन्सन नपाएको र त्यसका लागि धेरै कष्ट गर्नुपरेको उनी बताउँछन् । सानी आमाको श्रीमान् बितेपछि पनि पेन्सन पाउन त्यस्तै संघर्ष गर्नुपरेको उनको अनुभव छ । परिवारमा देखेका यी घटनाले माओत्सेको मनमा एउटा प्रश्न बस्यो, आफ्नै अधिकार पाउन किन यति धेरै कष्ट गर्नुपर्छ ?

वर्षौंसम्म मनमा रहेको त्यही प्रश्न विस्तारै कथामा बदलियो । उनी परिवार सम्झदैं भन्छन, ‘यो भनिनुपर्ने कथा रहेछ भन्ने लाग्यो, त्यसैले मैले यो कथा चलचित्रमार्फत भनेको हो ।’ त्यही पारिवारिक भोगाइ अहिले पेन्सन पट्टा बनेर पर्दामा आएको उनको भनाइ छ ।

व्यक्तिगत भोगाइबाट जन्मिएको कथा पर्दामा पुगेपछि त्यसले आफ्नो परिवारको सीमाभन्दा बाहिरको अर्थ पनि बोकेको छ । पेन्सन, अधिकार र त्यसका लागि गर्नुपर्ने प्रक्रियासँग जोडिएका अनुभव धेरै परिवारका लागि अपरिचित विषय होइनन् । त्यसैले माओत्से दर्शकले यो चलचित्रलाई आफ्नै जीवनसँग जोडेर हेर्न सकून् भन्ने चाहन्छन् ।

उनलाई सिनेमा के रहेछ ? भन्ने सोधिएको प्रश्नमा उनी सिनेमा मनोरञ्जन मात्र नभएको बताउँछन । ‘सिनेमा मनोरञ्जन दिने माध्यम मात्र होइन, सूचना र शिक्षा पनि दिन्छ,’ उनी भन्छन् ।

चलचित्रमार्फत आफूले सिकेको कुरा र समाजलाई भन्न चाहेको विषय प्रस्तुत गर्न सकिने उनको बुझाइ छ । मनोरञ्जनसँगै सामाजिक विषय, सूचना, शिक्षा र चेतनाका कुरा दर्शकसम्म पुर्‍याउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने उनी बताउँछन् ।

उनका लागि कलाकार हुनु भनेको पात्र बनेर पर्दामा देखिनु मात्र होइन । आफूले देखेको समाज, भोगेको जीवन र उठेका प्रश्नलाई कलामार्फत दर्शकसामु पुर्‍याउनु रहेको बताउँछन् । ‘पेन्सन पट्टा त्यही प्रयासको एउटा उदाहरण हो ।’ उनी हाँस्दै भन्छन् ।

त्यसो त माओत्सेको अभिनयमा उनको जन्मथलोको प्रभाव पनि देखिन्छ । कास्कीको पोखरा महानगरपालिका–३१ तालबेँसीमा जन्मिएर हुर्किएका उनी आफ्नो भाषा, संस्कार र परम्परालाई कलामार्फत अगाडि ल्याउँदै आएका छन् ।

उनको अनुभवमा कतिपय दर्शकले चलचित्र हेरेर गुरुङ समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएका छन् । चलचित्रमा कुनै समुदायको कथा आउँदा त्यससँगै उसको भाषा, संस्कार, रहनसहन र जीवनपद्धति पनि दर्शकसामु पुग्छ । माओत्से आफ्ना सिर्जनामा यही पक्षलाई महत्व दिन्छन् ।

रंगमञ्चको बाटो हुँदै ठूलो पर्दासम्म

माओत्सेको कलाकारिता यात्रा आजको पेन्सन पट्टाबाट सुरु भएको होइन । २०४६ सालमा पञ्च नाटकमा अभिनय गरेपछि उनी कलाकारिताको क्षेत्रमा प्रवेश गरेका हुन् । बाल्यकालदेखि नै कलाप्रति रुचि भएकाले अन्य क्षेत्रमा खासै मन नगएको उनी सुनाउँछन् ।

रंगमञ्चबाट सुरु भएको यात्रा पछि ठूलो पर्दासम्म आइपुग्यो । नेपाली चलचित्र पुरानो डुङ्गा हुँदै उनले आफ्नो छुट्टै अभिनय शैलीमार्फत दर्शकमाझ परिचय बनाए । रंगमञ्चको अनुभवले उनको अभिनयलाई बलियो आधार दिएको छ । पर्दामा उनी पात्र बनेर आउँदा त्यसमा आफ्नै समाज, भूगोल र जीवनको अनुभव मिसिएको देखिन्छ ।

एक्लै किन ?

चलचित्र प्रचारका क्रममा माओत्से एक्लै हिँडिरहेका छन् । यो नै गफैको हरेक सेकेन्डमा उब्जिने प्रश्न हो । किनकी आफैं कार चलाउँछन् । आफैं गन्तव्य तय गर्छन् । एउटा हलमा पुग्छन्, चलचित्रबारे कुरा गर्छन् र फेरि अर्को हलतिर लाग्छन् ।

कलाकारको सुरक्षा र राज्यको भूमिकाबारे प्रश्न गर्दा उनी नेपाली कलाकारलाई पनि राज्यले महत्वपूर्ण सांस्कृतिक क्षेत्रका व्यक्तिका रूपमा हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कतिपय कलाकारलाई सुरक्षा चुनौती पनि हुन्छ, त्यही कारण पनि यो यात्र एक्लै हो ।’

तर, सुरक्षाका सन्दर्भमा कलाकारको पनि जिम्मेवारी हुन सक्ने उनी स्वीकार्छन् । कतिपय अवस्थामा सुरक्षा निकायलाई आफ्नो कार्यक्रम वा यात्राबारे जानकारी नदिँदा पनि समस्या हुन सक्ने उनको भनाइ छ ।

फेरी पनि कफिको चुस्कि सँगै उही प्रश्न त्यसो भए माओत्से प्रचार यात्रामा एक्लै किन ? उनी हाँस्दै भन्छन्, ‘देख्दा आफू एक्लै देखिएको मात्र हो, सबै कलाकारले आ–आफ्नो ठाउँबाट चलचित्रको प्रचार गरिरहेका छन् ।’

विराटनगरमा पेन्सन पट्टाले अपेक्षाअनुसार दर्शकको साथ पाउन नसकेको प्रसंगमा पनि उनी सहज रूपमा कुरा गर्छन् । यसमा भूगोल र परिवेशले भूमिका खेल्न सक्ने उनको तर्क छ । एउटा ठाउँका दर्शकलाई नजिक लाग्ने कथा अर्को ठाउँमा उस्तै रूपमा नजिक नलाग्न सक्छ । दर्शकको सामाजिक परिवेश र जीवनअनुभूति फरक हुने भएकाले चलचित्रको प्रभाव पनि ठाउँअनुसार फरक पर्न सक्ने उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं