काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरीले दसैँ–तिहार लक्षित सुरक्षा योजना ल्याएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत चाडपर्वका समयमा निगरानी तथा सुरक्षा व्यवस्थाका लागि विभिन्न टोली परिचालन गरिने जनाएको छ । परिसरका एसपी दानबहादुर थापाका अनुसार चोरी, डकैती तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि ३ हजार ५०६ जना प्रहरी परिचालन गरिनेछ ।

लामो दूरीका सवारीसाधनमा चेकिङ, मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा समेत निगरानी बढाइने प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाका लागि तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिनेछ ।

प्रहरीले दैनिक ७० जना सादा पोसाकका प्रहरी र १५२ जना क्विक रेस्पोन्स टोली परिचालन गर्ने जनाएको छ । यस्तै, ९० स्थानमा २४ घण्टा नै प्रहरी परिचालन गरिनेछ । प्रहरीले चाडपर्वका नाममा अनावश्यक तडकभडक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।