रौतहट । घुस मागेको आरोपमा मुजफ्फरपुर प्रहरीले एक प्रहरी (अवर निरीक्षक) इन्स्पेक्टरलाई निलम्बन गरेको छ । हथौडी थाना काण्डका अनुसन्धान अधिकृत इन्स्पेक्टर रामप्रवेश प्रसादलाई घुस मागेको आरोपमा तत्काल लागू हुनेगरी निलम्बन गरिएको हो ।
हथौडी थानाध्यक्षले वरिष्ठ प्रहरी अधिकारीसमक्ष बुझाएको प्रतिवेदनमा थाना काण्डका एक आरोपितसँग अनुसन्धान अधिकृत प्रसादले घुस मागेको उल्लेख गरिएको थियो । उक्त आरोपबारे अनुसन्धान अघि बढाउँदै पटना निगरानी थानामा काण्ड नं. ९९/२६ समेत दर्ता भएको जनाइएको छ ।

घटनालाई गम्भीर रूपमा लिँदै मुजफ्फरपुरका आईपिएस अफिसर एसएसपी कान्तेश कुमार मिश्रले प्रसादलाई तत्काल निलम्बन गरेका हुन् । निलम्बन अवधिमा उनलाई प्रचलित नियमअनुसार सामान्य जीवन निर्वाह भत्ता उपलब्ध हुने जनाइएको छ ।

प्रहरी अधिकारीमाथि घुस मागेको आरोपमा भएको यो कारबाहीले वर्दीको आडमा अनियमितता वा भ्रष्टाचार गरेको आरोपमा विभागीय कारबाही हुने स्पष्ट संकेत दिएको छ ।