Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३
फाइल फोटो

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल गरिएको छ। हाल नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन्।

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को दुईदिने महासभाको उद्घाटन सत्रमा नेपालले विश्व पर्वतारोहण समुदायसमक्ष थप ६ हिमाललाई ८ हजार मिटरभन्दा अग्लो हिमालको मान्यता दिनुपर्ने प्रस्ताव प्रस्तुत गरेको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए)  का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले ती हिमालको विवरण र तिनलाई छुट्टाछुट्टै ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने आधारसहितको अध्ययन प्रतिवेदन महासभामा प्रस्तुत गरेका थिए।

शेर्पाका अनुसार प्रस्तावित ६ हिमालको उचाइ यालुङ काङ – ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण – ८ हजार ४७६ मिटर,कञ्चनजङ्घा मध्य – ८ हजार ४७३ मिटर, ल्होत्से मध्य – ८ हजार ४१० मिटर, ल्होत्से शार – ८ हजार ४०० मिटर, यालुङ काङ पश्चिम – ८ हजार ७७ मिटर रहेको छ ।
एनएमएले ती हिमालको पहिचान र उचाइ मापनका लागि अध्ययन टोली गठन गरेको थियो। टोलीले ती हिमालको भौगोलिक पहिचान, छुट्टाछुट्टै चुचुरा तथा अलग-अलग आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।

प्रस्तावित ६ वटै हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा ८ हजार मिटरभन्दा अग्ला मान्यताप्राप्त हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ। त्यस्तै, विश्वभर यस्ता हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ।

महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वका ८ हजार मिटरभन्दा अग्ला २० मध्ये १४ वटा हिमाल नेपालमा रहेको पहिचान स्थापित हुनु आफैंमा शानदार उपलब्धि हुने बताएका छन्।

उनले यसबाट नेपाल विश्वका सर्वोच्च हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित हुनुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खुल्ने विश्वास व्यक्त गरेका छन्।

महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि यूआईएएको महासभा आयोजना भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं