Lite Nepal

सोमबार, कार्तिक १६, २०८३

काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै त्यसमा सदैव अडिग रहने जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं ।’

बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष र स्वतन्त्र ढंगबाट संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न तथा आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा संवेदनशील हुन बैठकले आग्रह गरेको छ ।

छानबिनको निष्कर्ष सार्वजनिक हुनुअघि नै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

यसैगरी, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाकर्मीहरूलाई बैठकले आग्रह गरेको छ । ‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदाझैं न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायाकर्मीहरूलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं