Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । ६० जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी रहेका छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने तथा शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताए ।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । गर्मी र जाडो मौसममा बिरामी हुने समस्या बढ्ने गरेको रेग्मीले जानकारी दिए । पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उनले बताए ।

कारागारको नयाँ भवन निर्माणका लागि एक दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण आवश्यक बजेट उपलब्ध हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, सप्तरीमार्फत भवन निर्माण गर्ने तयारी भए पनि हालसम्म ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

हालको कारागार भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।

जीर्ण भवन र क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण मानवीय तथा सुरक्षा चुनौती बढ्दै गएको अवस्थामा नयाँ भवन निर्माण प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं