काठमाडौं । गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रहरीको कार्यशैली नागरिकमैत्री हुनुपर्नेमा जोड दिएका हुन्। उनले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए।
‘नागरिकसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनु हुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ,’ उनले भने। गृहमन्त्री गुरुङले प्रहरी संगठनले सकारात्मक र जिम्मेवार ढंगले काम गर्दा गृह मन्त्रालय सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। कार्यसम्पादनका क्रममा प्रहरीलाई कुनै कठिनाइ आइपरे मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

उनले प्रहरी संगठनलाई थप बलियो, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
