काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयले निर्धारित सर्तहरूको पालना गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ।

परिपत्रअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्नेछ। कार्यक्रममा सहभागी हुने वा नहुने विषय व्यक्तिको इच्छामा निर्भर रहनेछ भने कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न पाइने छैन।

त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने खालका अश्लील नृत्य, गीत, संगीत तथा नाराको प्रयोग गर्न निषेध गरिएको छ। मन्त्रालयले तिहारका बेला जुवा तथा तास नखेल्न पनि निर्देशन दिएको छ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारीसाधन नचलाउन परिपत्रमा उल्लेख गरिएको छ।
यसैगरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। विशेषगरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले चाडपर्वको सांस्कृतिक महत्त्व र सामाजिक सद्भाव कायम राख्दै सुरक्षा तथा सार्वजनिक मर्यादाको पूर्ण पालना गरेर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।
