काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिपत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र बुझ्न कार्कीले अस्वीकार गरेपछि गृह मन्त्रालयका कर्मचारीले उनको निवासमै पुगेर पत्र बुझाएका हुन् ।
स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले कार्कीको घरमै पुगेर नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै गृह मन्त्रालयले कार्यालय समयमै कर्मचारी खटाएर कार्कीलाई उनको निवासमा नियुक्तिपत्र बुझाएको स्रोतको भनाइ छ । कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ ।

यद्यपि, सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन् । आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै उनले रिट निवेदन दायर गरेका छन् । उनको रिटमा सोमबारका लागि पेसी तोकिएको थियो । तर, सोमबार सार्वजनिक बिदा परेकाले उक्त दिन सुनुवाइ नहुने भएको छ ।