काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्राेतका अनुसार ५ जनालाई सहसचिवसरहको सेवा सुविधासहित संयोजक र ५ जनालाई उपसचिवसरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।

विकास परियोजना हेर्दै आएका सञ्जीव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ । यसअघि कार्यक्रम तथा भ्रमणको जिम्मेवारीमा रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ । सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका विश्व राईले सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन् ।

प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ । यसअघि उपसचिवसरहका सचिवालय सदस्य विशाल अधिकारीलाई सहसचिवसरहको सेवा सुविधासहित सरकारी मामिला तथा योजना समन्वय संयोजक तोकिएको छ ।
उपसंयोजकतर्फ सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय र प्रकृति ढकाललाई स्वास्थ्य समन्वयको जिम्मेवारी दिइएको छ । विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजक तोकिएको छ ।
सचिवालयका एक सदस्यका अनुसार सदस्यहरूले हालसम्म गरेको कामको समीक्षा गरी जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी यथावत् छ । कुमार व्यञ्जनकार मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार र प्रा.डा. जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार छन् । सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन् ।
प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि यथावत् छन् ।