काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीको रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेशबारे छलफल गर्न सरकारलाई बोलाएको हो।
यससँगै तत्कालका लागि सरकारको निर्णय यथावत् रहने भएको छ। अन्तरिम आदेश जारी हुने वा नहुने निर्णय संयुक्त इजलासले गर्नेछ।
कार्कीले आफूलाई सुनुवाइको मौका नदिई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए।
सरकारले कात्तिक १८ गते कार्कीलाई पदमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएको छ।
