विराटनगर । नेपाली काँग्रेसको मोरङ जिल्ला अधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र केन्द्रीय नेतृत्वलाई लिएर नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ। जिल्ला अधिवेशनको परिणामले आगामी केन्द्रीय महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूको रणनीति र शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
कांग्रेसभित्र नेता केदार कार्की र डा. शेखर कोइरालालाई केन्द्रमा राखेर भावी नेतृत्वको बहस तीव्र बनेको छ। दुवै नेताको राजनीतिक सक्रियता र आगामी महाधिवेशनमा उनीहरूले लिने रणनीतिलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।

कोसी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केदार कार्कीले केन्द्रीय सभापति पदमा आफ्नो दाबेदारीबारे औपचारिक घोषणा गरिसकेका छैनन्। यद्यपि, उनीनिकट स्रोतका अनुसार कार्कीको लक्ष्य पार्टीको केन्द्रीय नेतृत्वमा महत्त्वपूर्ण भूमिका हासिल गर्नु हो। स्रोतले उनको दाबी सभापतिसहितका पाँच प्रमुख पदाधिकारीमध्ये कुनै एक पदमा रहने संकेत गरेको छ।

यता, डा. शेखर कोइराला पनि आगामी महाधिवेशनमा सभापति पदका सम्भावित दाबेदारका रूपमा देखिएका छन्। उनीनिकट स्रोतका अनुसार कोइरालाले सभापति पदमा आफ्नो दाबेदारी कायम राखेका छन्।
मोरङ जिल्ला अधिवेशनपछि दुवै नेताले संगठनभित्र आफ्नो समर्थनको आधार विस्तार गर्न कस्तो रणनीति अपनाउँछन् भन्ने विषय चासोको केन्द्रमा छ। जिल्ला तहमा देखिएको संगठनात्मक शक्ति, प्रतिनिधिहरूको समर्थन र नेताहरूबिचको आपसी समझदारीले केन्द्रीय नेतृत्वको समीकरण निर्माणमा भूमिका खेल्न सक्ने देखिन्छ।
अब मुख्य चासो केदार कार्कीले पदाधिकारीमध्ये कुन पदमा आफ्नो दाबी अघि बढाउँछन् र डा. कोइरालाले सभापतिको प्रतिस्पर्धालाई कसरी अगाडि बढाउँछन् भन्नेमा केन्द्रित भएको छ। आगामी महाधिवेशनसम्म विकसित हुने राजनीतिक समीकरणले काँग्रेसको केन्द्रीय नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाउने देखिन्छ।
तर, कार्कीको मुख्य राजनीतिक दाउ सभापति पदमै रहेको देखिन्छ। उनले अहिलेसम्म सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा नगरे पनि पछिल्लो समय कार्यकर्तासँगको भेटघाट, निरन्तरको सक्रियता र राजनीतिक गतिविधिले भने त्यही संकेत गरिरहेको छ।