Lite Nepal

शनिबार, आषाढ ३२, २०७९

ताप्लेजुङ — बाल सुवोधिनी संस्कृत माविका शिक्षक भीम पन्दाकले यो वर्ष लाखेजात्रा हुन्छ कि हुॅदैन भनेर प्रश्न गरे । फुङलिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठ, नगर कार्यपालिका सदस्य दिनेश खवासलगायत रहेको छलफलबाट उनले लाखेजात्राचाहिँ हुने जवाफ पाए । तर पन्दाकको चासो फुटबलमा थियो ।

वडाध्यक्ष श्रेष्ठले त्यसमा चाहिँ अनभिज्ञता जनाए । प्रत्येक वर्ष साउन–भदौमा सदरमुकाम फुङलिङमा लाखेजात्रा पर्व मनाइन्छ । यही बेला भानुजन मावि अम्बिटारको मैदानमा फुटबल प्रतियोगिता हुन्छ । पहिला लाखेजात्रा फुटबल प्रतियोगिता भनिने यसको नाम पछि ‘पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता’ मा आयोजना भएको थियो । ५ केजी चाॅदीसहितको कप पाथीभरा देवी मन्दिर संरक्षण समितिले तयार पारिदिएपछि यसको नाम परिवर्तन भएको हो । यो प्रतियोगिता हेर्न गाउॅगाउॅबाट हजारौंको संख्यामा दर्शक ओइरिन्छन् । ज्येष्ठ नागरिकदेखि युवापुस्ताको आकर्षण हुन्छ ।

यो प्रतियोगिताको प्रतीक्षामा निजी क्षेत्रसमेत रहने गरेको छ । दर्शकको टिकट शुल्कबाट मात्रै १३ लाख रुपैयाँसम्म उठेको तथ्यांक आयोजकसॅग छ । तर, आयोजकको वार्षिक कार्यसूची नभएकाले ‘हुन्छ कि हुॅदैन’ भन्ने प्रश्न चाहिँ बर्सेनि उठ्ने गरेको छ । लाखेजात्रा फुटबल सञ्चालक समितिका अध्यक्ष नारान थापाले भने, ‘हाम्रो खेल मैदान भानुजन माविमात्रै हो, त्यहाँ निर्माणको काम भइरहेको छ, त्यो सकिएन भने त कसरी होला र ? नत्र साथीहरूसॅग छलफल गर्ने हो ।’

उक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर मादेन निर्माणको काम भइरहेको तर फुटबल आयोजना गर्ने नै भए केही व्यवस्थापन गर्न सकिने बताउँछन् । विद्यालयको जग्गा सुरक्षित गर्न कम्पाउण्ड घेर्ने काम भइरहेको उनले बताए ।

शिक्षक पन्दाकले भने, ‘यो इलेभेन साइजको मैदान हो, आयोजकले चाहे यो वर्ष नाइन ए साइडको बनाएर पनि प्रतियोगिता गर्न सकिन्छ ।’ जिल्ला फुटबल संघ ताप्लेजुङका अध्यक्ष अशोक चेम्जोङ प्रतियोगिता लाखेजात्रा सञ्चालक समितिले जिम्मा लगाए आम फुटबलप्रेमीको चाहना मर्न नदिने प्रतिबद्धता जनाउँछन् । ‘समितिमा अग्रज दाइहरू हुनुहुन्छ, उहाॅहरूले गर्नुस् भन्ने हो,’ उनले भने, ‘हामीबाट सम्भव भएन भन्नुभयो भने फुटबल संघले प्रतियोगिता चलाउँछ ।’

बाह्रै महिनाजसो काम हुने ताप्लेजुङमा साउन अन्तिम र भदौको सुरुवात गाउॅमा बाली लगाएर फुर्सद हुने समय हो । यो समयमा गाउॅगाउॅबाट मानिस सदरमुकाम आउँछन् । फुटबल प्रतियोगिताले यो आवागमनलाई झनै बढाउने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको निष्कर्ष छ । पाथीभराको प्रचारका लागि समितिले पनि सहयोग गर्दै आएको छ । जनैपूर्णिमामा सुरु भएर कृष्ण जन्माष्टमीको दिन सकिने प्रयोगितामा दर्शकका अस्थायी प्यारापिट बनाउने गरिएको छ । प्रतियोगितामा भारतको सिक्किम, काठमाडौं, मोरङ, झापादेखिका क्लब प्रतिस्पर्धाका लागि आउने गरेका छन् ।

आयोजकले खेल सकिएपछि तत्काल खर्च विवरण सार्वजनिक नगर्नु, खेलतालिका निर्धारण गरेर प्रतियोगिता नगर्नु मुख्य समस्या रहेको फुटबलप्रेमीहरू बताउॅछन् । तीन वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहन जीसीले खर्च विवरण सार्वजनिक गर्न दबाब नै दिनुपरेको थियो । जिल्ला विकास समितिबाट अवकाशप्राप्त सदरमुकाम फुङलिङका दुर्गा श्रेष्ठका अनुसार यो प्रतियोगिता २०२८ देखि सुरु भएको हो । सुरुमा देउमान लिम्बूको नाममा देउमान क्लब गठन गरेर खेलाइएको थियो । पछि कञ्चनजंघाको नाममा पनि खेलाइयो । त्यसपछि लाखेजात्रा हुँदै अहिले पाथीभराको नाममा आइपुगेको हो । ईकान्तिपुरबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा