Lite Nepal

मंगलबार, कार्तिक २६, २०८२

काठमाडाैं । नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार सुरेश यक्सोद्धारा लिखित कथाकृति ‘पेनिबा’ आज एक विशेष समारोहबीच विमोचन गरिएको छ ।

मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा काठमाडौँमा सम्पन्न भव्य कार्यक्रममार्फत उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला) ले ‘पेनिबा’ लाई आधुनिक नेपाली समाज र प्रवासी नेपालीहरूको जीवनभोगाइको सशक्त प्रतिबिम्ब भएको बताए ।

उनले भने, “सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ । उहाँका कथाहरू सरल भाषामा लेखिएका छन्, तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेको हुन्छ ।”

पूर्वकुलपति नेम्बाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोद्धारा लेखन शैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको धारणा राखे।

उनले भने, “पेनिबा केवल कथा सङ्ग्रह होइन, यो याक्थुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज पनि हो । यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावको सजीव चित्रण गरिएको छ ।”

धनकुटाको ग्रामीण परिवेशमा जन्मिएका र हाल हङकङमा रोजगारीका क्रममा रहेका यक्सोले प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको समर्पणलाई निरन्तरता दिँदै आउनु भएको भन्दै पूर्वकुलपति नेम्बाङले खुशी समेत व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि एवम् नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले ‘पेनिबा’ लाई नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताए । उनले भने, “सुरेश यक्सोद्धारा लेखिएको पेनीवाले नेपालीपनलाई पुन: अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो ।”

कृतिमाथि बोल्दै लेखक तथा समालोचक डा तुलसी गौतमले यस संग्रहमा कथाकारले मुन्धुमको दर्शनबाट जीवनलाई हेरेको देखिएको बताए । “याक्थुङ लिम्बुहरूको मुन्धुम दर्शन हामीले बाहिर ल्याउनै सकेको छैनौं। यो एउटा जीवन दर्शन हो । कथाकारले यहाँ एक ठाउँ के भनेको छ-‘म ज्ञानको लागि भौतारिएर धेरैवटा ग्रन्थहरू पढ्न गएँ। धेरैवटा लेखकका किताबहरू हेरेँ तर दर्शन त गाउँमा पो रहेछ’, गौतमले भने ।

यस्तै, कबि तथा कथाकार विना थिङले लेखकले समाजलाई कसरी हेर्छ भन्ने कुरामा उनको विचार र हुर्किएको धरातल प्रमुख हुने बताउदै कथाकार यक्सोले पनि कथाद्वारा आफ्नो विचार प्रस्तुत गरेको बताइन् । “लेखक हुनु भनेको आफ्नो विचारलाई सम्प्रेषण गर्नको लागि हो। चाहे त्यो फिक्सन होस् या नन् फिक्सन । कविता होस्, निबन्ध अथवा कुनै लेख नै होस् । जसरी हुन्छ एउटा लेखकले आफ्नो विचार सम्प्रेषण गर्ने हो । त्यसका लागि उसले विधा निर्धारण गर्ने मात्रै हो”, उनले भनिन्, “सुरेशजीले पनि आफ्नो विधामा विचारहरू निर्माण गर्नुभएको छ । र त्यो विचार हामीसम्म पुर्‍याउनको लागि वहाँले कथाको सहायता लिनुभएको छ ।”

कृतिमा भएका कुराहरू साहित्यपान गर्नुमात्रै नभएर कृति पढिसकेपछि कृतिकारलाई पनि नजिकबाट चिन्नु रहेको बताउदै थिङले कथाकार सुरेशसँग प्रत्यक्ष भेटघाटै नभए पनि उनको कथा पढिसक्दा उनलाई चिनेको बताइन् ।

कार्यक्रमका अर्का अतिथि एवम् प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताए । मुकारुङले भने, “यक्सो नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार हुनुहुन्छ । उहाँले लेख्नु भएको कथाकृति ‘पेनिबा’ नेपाली साहित्य सहित देश विदेशको परिवेश बारे झल्काएको छ ।”

उनको कथाहरूले पहिचानका कुरा, अस्तित्वको कुरा, सामाजिक न्याय र मानवताका कुरा रहेको पनि मुकारुङले बताए ।

सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले कथाकार यक्सो जस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान निकै महत्त्वपूर्ण रहेको बताए । उनले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्य समेत प्रस्तुत गरिएको थियो, जसले सभाको माहोललाई थप उत्सवमय बनाएको थियो । उक्त कथा विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा