खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आगलागी भएको छ । आइतबार साँझ भएको आगलागीमा लघुवित्तको कार्यालय रहेकोसहित ३ वटा घरमा क्षति पुगेको छ ।
खान पकाउने क्रममा ग्यास ‘लिक’ भएर पदम राईको भान्छा कोठाबाट साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । आगोले राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, ग्यास पसल र निर्धन उत्थान लघुवित्तको कार्यालय एवं आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो निभाउन पानीको अभाव भएको थियो । हलेसी सुक्खाग्रस्त घोषित क्षेत्र हो । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार आगलागीबाट २ वटा घर पूर्ण तथा एउटामा आंशिक क्षति पुगेको छ ।
करिब १ करोडभन्दा बढीको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।