Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडौँ । ‘के माया लाग्छ र ?’ बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् ।

धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् । लकडाउन खुकुलो भएसँगै १० वटा गीत रेकर्ड गराइसकेकी एलिनाले यसअघि कभर गीतबाट दर्शकबीच चर्चा कमाएकी थिइन् ।

आफ्नो स्वरकै कारण उनी चर्चामा आएको यो पहिलोपटक भने होइन । करिब १ वर्षअगाडी गायक कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’ बोलको गीतको ‘रिप्लाइ भर्सन’ गाएर चर्चामा आएकी थिइन् एलिना । त्योबेला भाइरल नै भएकी थिइन् ।

त्यसअघि पनि उनले विभिन्न गीतमा कभर गाइसकेकी थिइन् । ‘इन्स्टाको फोटो’पछि उनलाई श्याम कार्कीको ‘तिम्रो मायाले बाँधेर राख’बोलको गीतले चर्चामा ल्याएको हो ।

यो गीत एलिनाको स्वरमा कभर भिडियो सार्वजनिक भएपछि विवादमा तानिएको थियो । गीतका ओरिजिनल गायक श्याम कार्कीले कपीराइट क्लेम गरेपछि ७८ लाख भ्यूज पुगेको कभर गीत युट्युबबाट हटेको थियो । एलिनाको स्वरमा कभर गीत सुनेकाले पनि पूरानो गीत खोजेर सुनेपछि ओरिजिनल गीतको भ्यूज ह्वात्तै बढ्यो । एलिना मिडियामा छाउन थालिन् ।

नचलेको गीत कभर गाएर हिट गराइदिएको अभिव्यक्ति युट्युब अन्तरवार्तामा एलिनाले दिएको भन्दै गायक श्यामले कपीराइट क्लेम गरिदिए । त्यसपछि भिडियो युट्युबबाट हटेको थियो । एलिनालाई सर्वाधिक भ्यूज भएको कभर भिडियो डिलिट हुनुभन्दा पनि उक्त गीत अप्लोड भएको युट्युब च्यानल उड्दा दु:ख लागेको थियो । ‘त्यो च्यानल मेरो थिएन ।

एकजना दाइको थियो जसको स्टूडियामा मैले गीत रेकर्ड गरेको थिएँ ,’ उनले भनिन्, ‘त्यही गीतले पनि चिन्नु हुन्छ दर्शकले मलाई । त्यो गीत छोटो समयमा धेरैजनाले सुन्नु भएको थियो नि । त्यतिखेर भर्खर सुरुवात गरिरहेको थिएँ । विवादमा आउँदा अलिकति गाह्रो भएको थियो । तर मैले अर्काको भनेको अर्काकै हुन्छ भनेर चित्त बुझाइहालें ।’

कभर गीतबाट संगीतमा करियर थालेकी एलिनाले छोटो समयमै लोभलाग्दो चर्चा बटुलेकी छिन् । अहिलेसम्म ५० वटा गीत गाइसकिन् एलिनाले । संगीत क्षेत्रमा प्रवेश गर्नुअघि एलिना झापाको एक विद्यालमा पढाउथिन् । कभर गीत भाइरल हुन थालेपछि युट्युब च्यानलले एलिनालाई खोज्दै झापासम्म पुगे । अन्तरवार्ता लिन विद्यालसम्मै मिडिया धाउन थालेपछि उनले विद्यालमा समय दिन सकिनन् ।

त्यतिखेर उनलाई गीतहरुको अफर आउन थालिसकेको थियो । त्यसपछि विद्यालयले नै उनलाई समय दिन नसकेको भन्दै निकालिदिएको एलिना सुनाउँछिन् । त्यही कारण संगीत क्षेत्रमा फड्को मार्न उनलाई सजिलो भयो । कक्षा एक र दुईलाई पढाउने एलिनालाई विद्यालयले निकालिदिएकोमा चिन्ता छैन । त्यसैले गर्दा संगीतलाई समय छुटाउन पाएकोमा खुशी छिन् ।

कभर गीतले चर्चामा ल्याएपछि झापादेखि काठमाडौं धाउँदै गीतहरु रेकर्ड गराइन् एलिनाले । तर, यसबीच अफर आएको कति गीत उनले गाउन पाइनन् । झापा, काठमाडौं गर्दा समय धेरै खर्चिएको अनुभव भएपछि अहिले उनी करियर बनाउन काठमाडौं आएकी छिन् । काठमाडौं आएको त्यस्तै २ महिना भयो ।
‘भिडियो गर्न, कहिले गीत गाउन यता आइरहनुपर्थ्यो । झापाबाट काठमाडौं आइरहन गाह्रो भयो । त्यसैले हिम्मत गरेर यहाँ आएँ,’ उनले सुनाइन्, ‘त्यसबीच मैले धेरै गीत रेकर्ड गर्नै पाइँन । कतिले फोन गर्नुहुन्थ्यो म झापा छु भन्थे । पछि त्यो गीत अर्कैले गाइसकेको हुन्थ्यो । म गीत सिक्नलाई यता आएको हुँ ।’

काठमाडौं बसेदेखि उनको गीतको संख्या बढेको छ । ‘२ वर्षमा झापामा मैले त्यति धेरै गीत गरिन जति अहिले १ महिना गाइरहेकी छु,’ दंग पर्दै सुनाइन् । तीजका गीतहरुमा पनि आवाज दिइसकेकी छिन् एलिनाले । उनको स्वरमा अझै नयाँ गीतहरु सार्वजनिक हुन बाँकी नै छ ।

‘के माया लाग्छ र ?’ पनि काठमाडौं आएर नै उनले रेकर्ड गरेकी हुन् । उनी झापा हुँदै नवीन चौहानले गीतको अफर गरेका थिए । गीतको डमी सुनेपछि नै एलिनालाई गीत मनपरेको थियो ।

‘गीत सुनें मलाई एकदम राम्रो लाग्यो । गीतको शब्द र कम्पोज मन परेको थियो । मलाई भिडियोबारे त केही थाहा थिएन । अनि मैले गर्छु भनें,’ उनले भनिन् , ‘आइरहेको गीतभन्दा फरक आयो । एकदम राम्रो आइरहेको छ प्रतिक्रया ।’

एलिनाको आफ्नै गीत कहिले सुन्न पाइन्छ ? प्रश्नको जवाफमा भनिन्, ‘मलाई आफैं गीत रचना गरेर त गाउन आउँदैन । अरुले बनाएको गीतचाहिँ गाउँछु । अबचाहिँ मेरै स्वरमा अफिसियल गीत आउँदैछ ।’

एलिना आफूलाई कभर गीतले चिनाएको कुरा नबिर्सिने बताउँछिन् । ‘मलाई कभर गीतले नै चिनाएको हो । आफू जहाँबाट आएको त्यो त बिर्सनु भएन,’ उनले भनिन् । उनी आगामी दिनमा पनि पूरानो गीतको कभर गाउन नछोड्दे बताउँछिन् ।

उनले भनिन्, ‘मैले गाएको कभर गीतले केही फाइदा होस् । पूरानो गीतहरु हुन्छ नि हराउन लागेको, त्यस्ता गीतहरुको कभर गर्न पाए आफैंलाई खुशी लाग्छ । त्यसो गर्दा त पूरानो गीत पनि हराएर जाँदैन ।’

सानैदेखि गायनमा रुचि राख्ने एलिना पछिल्लो समय आफूले गाएको गीतमा अभिनय पनि गर्छिन् । आफूले गाएको गीतमा आफैं फिचर्ड हुन मन पराउँछिन् उनी । ‘सुरुमा त डर लाग्थ्यो । अहिले सिक्दैछु । मलाई आफ्नो गीतमा अभिनय गर्न मन लाग्छ,’ उनले भनिन् । ekantipur

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा