Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि छुट्टयाएको २० अर्ब रुपैयाँ बजेट कार्यान्वयनको कार्यविधि चाँडै ल्याउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराइले मंगलबार यो जानकारी दिएका हुन्।

पर्यटन क्षेत्र पुनरोत्थानका लागि २० अर्ब रुपैयाँको कोष स्थापना गरेर सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालयले कार्यविधि तयार गरिरहेकोे उनले जानकारी दिए।

२० अर्ब रुपैयाँमध्ये १० अर्ब हवाई यातायातका लागि छुट्टाइनेछ। अर्थ मन्त्रालयले चाँडै नै कार्यविधि बनाएर सार्वजनिक गर्ने कोष छिट्टै नै पर्यटन व्यवसायीले उपयोग गर्न पाउने मन्त्री भट्टराईको भनाइ छ।

भर्चुअल बैठकमार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री भट्टराईले सबैभन्दा बढी पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए। कोभिड–१९ महामारीका कारण पुस-माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन। त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पुँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ। चालु खर्चमा ८० प्रतिशत प्रगति भएको उल्लेख छ।

मन्त्रालयको आव २०७५/०७६ मा कुल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रुपैयाँ थियो। आब २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कुल बजेट रहेको छ। आब २०७५/०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो। यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालय मातहतका आयोजनाको प्रगतिमा पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत भएको छ। यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीकाबीच निरन्तर भएको जानकारी दिइएको छ। पर्यटनमन्त्री भट्टराईका अनुसार निर्माणाधीन भैरहवा विमानस्थलमा बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ। अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउनेछ।

पुनर्निर्माणमा तीव्रता

भूकम्पबाट क्षतिग्रस्त सम्पदामध्य हालसम्म ४ सय ५३ को पुनर्निर्माण कार्य सकिएको छ। सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको छ। हालसम्म ११ तला बनिसकेको छ। रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिएका छन। पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ। ग्रेट हिमालयन ट्रेटलको ७७ किलोमिटर निर्मिाण सकिएको छ। १ सय २७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ।

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ। यसमा ४५ अर्ब ९४ करोड ऋण छ। निगमको खुद सम्पत्ति ८ अर्ब २३ करोड छ। यो बीचमा निगमले महत्वपूर्ण गन्तव्य जापानको नारितामा सीधा उडान सुरु गरेको छ। कोभिड–१९ महामारीअन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा