Lite Nepal

शुक्रबार, भाद्र १२, २०७७

काठमाडौं। देशको शान्ति–सुरक्षामा मात्र होइन, द्वन्द्वग्रस्त विदेशी मुलुकमा समेत नेपाली सुरक्षाकर्मीले शान्ति स्थापनार्थमा सहयोग गर्दै आएका छन् । तर, कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ ।

मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए । ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका उनीहरू अहिलेसम्म जान सकेका छैनन् ।

प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन सामान्यतया एक वर्षको हुन्छ । नेपाल प्रहरीको सुडानमा एफपियू मिसन छ । जसको अवधि गत चैतमा नै सकिएको थियो । तर, बदली हुन सकेको छैन । कोरोना संक्रमणका कारण सुडानमा नयाँ टोली जान नसकेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

‘अन्योलका कारण मिसनका लागि छनोट प्रक्रिया अहिले रोकिएको छ,’ उनले भने, ‘अनपोल (पर्यवेक्षक) मिसनमा जाने प्रहरी पनि जान पाएका छैनन् ।’ संक्रमणको जोखिमले राष्ट्रसंघले पनि बदली केही समयका लागि निरुत्साहित गरेको छ ।

नेपाल प्रहरी सुडान, दक्षिण सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक तथा मालीलगायत देशमा शान्ति मिसनमा खटिएका छन् । एक अधिकृत सोमालियाका लागि छनोट भएकोमा जान पाएनन् ।
सुडानको एफपियू मिसन भने बन्द हुने तयारीमा छ । यही टोली अन्तिम हुन सक्ने जानकारी राष्ट्रसंघका अधिकारीहरूले गराएको स्रोतले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरीको एफपियू मिसन पनि बदलीमा ढिलाइ भएको छ । गत वर्ष साउनमा दक्षिण सुडानमा गएको टोलीको एकवर्षे अवधि पूरा भइसकेको छ । केही ढिला भए पनि बदलीको तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले बताए । दक्षिण सुडानमा सशस्त्रका दुई वटा एफपियू मिसन छन् । दक्षिण सुडानमा कार्यरत १८ जना सशस्त्र प्रहरीमा संक्रमणसमेत देखिएको थियो । उनीहरू सबै निको भइसकेका छन् ।

नेपाली सेनाले भने नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी शान्ति मिसनमा खटिने सैनिकलाई लैजाने र अवधि पुगेकालाई ल्याउने गरिरहेको छ । सेनाबाट पनि पर्यवेक्षकका रूपमा जानेहरू नियमित रूपमा जान पाएका छैनन् ।

सुरक्षाकर्मीले शान्ति मिसनलाई महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन् । तर, पछिल्ला वर्ष यस्तो अवसर कम हुँदै गएको छ । केही वर्षयता राष्ट्रसंघलाई अमेरिकाले दिने बजेट कटौती भएपछि शान्ति मिसनमा समेत त्यसको असर देखिएको थियो । कोरोनाको संकटपछि राष्ट्रसंघ थप आर्थिक समस्यामा पर्ने र त्यसको असर शान्ति मिसनमा समेत पर्ने आकलन गरिएको प्रहरीको युएन शाखाका एक अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा