Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । खामोशी विथ लाइफको नाराका साथ बोल्न र सुन्न नसक्ने फरक क्षमताका प्रतिभाका लागि भारतमा भइरहेको अन्तर्राष्ट्रिय डेफ ला ग्राभेटियामा नेपालकी एक मात्र प्रतिस्पर्धीका रूपमा विश्व कीर्तिमानी बहिरा कलाकार सुजल बम कडा प्रतिस्पर्धा गरिरहेकी छिन्। श्रवणशक्ति नभएका बीच हुने यो प्रतियोगितामा सुजल प्रतियोगिता नं. १ सय १० का रूपमा १ सय ११ जना सहभागीका बीच स्पर्धा गरिरहेकी छिन्।

मिस एसईई–२०१९ को फोर्थ रनर्सअप रहेकी विश्व कीर्तिमानी सुजलको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। यसमा अनलाइनबाटै भए पनि नेपालको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको उनले बताइन्। ‘यदि हामी सबैको मिहिनेतले ममार्फत नेपाललाई यो प्रतियोगिताको विजेता घोषणा गरियो भने त्यस दिन पूरै नेपालीले गर्व गर्नेछन्। मलाई विजेता बनाउनका लागि डेफ ला ग्र्याभिटीको अफिसियल फेसबुक पेजमा गई मेरो फोटोसहितको पोस्ट बढीभन्दा बढी लाइक तथा शेयर गरिदिनहुन सम्पूर्ण नेपालीलाई अपिल गर्दछु।’ –सुजल भन्छिन्।

कोभिड–१९ को महामारीका कारण यसपटक अनलाइनमार्फत चलिरहेको प्रतियोगितामा धेरै देशका थुप्रै प्रतिस्पर्धीको सहभागिता रहेको आयोजक संस्था ला ग्र्याभिटीका संस्थापक अभिनाश दुगडले जानकारी गराए।

संसारभरबाट सहभागिता जनाएका सबै सहभागी श्रवणशक्तिविहीन रहेका र उनीहरूमा भएको प्रतिभाका आधारमा मूल्यांकन गरी विजेता घोषणा गरिने दुगडले बताए।

यसका साथै ला ग्र्याभिटीको अफिसियल फेसबुक पेजमा प्रत्येक प्रतिस्पर्धीको फोटोसहितको पोस्टमा आउने लाइकलाई समेत मूल्यांकनको आधार बनाइने उनले प्रस्ट्याए। आज सोमबार रातिसम्म फेसबुक पेजमा लाइक गर्न सकिने पनि उनले जानकारी गराए।

प्रतियोगिताको मूल्यांकनकर्ताका रूपमा अमेरिकाकी मोनिक मार्टिनेज छिन्। उनले हाल मकाउमा बसेर अनलाइनमार्फत प्रतियोगीहरूको मूल्यांकन गरिरहेकी छिन्। आगामी २८ जुलाई २०२० मा अनलाइनबाटै विजेता घोषणा गरिने र विजेताले नगद पुरस्कारका साथमा प्रमाणपत्र र ताजका साथमा विभिन्न उपहार प्राप्त गर्ने आयोजक दुगडले जानकारी गराए। दुगका अनुसार प्रतियोगिताको २०२१ मा हुने पाँचौं संस्करण कम्बोडियाको राजधानी फेनोम फेनमा हुने पनि उनले जानकारी गराए।

विश्व कीर्तिमानी सुजल बम कलेज लभ नामक फिल्ममा देखिने भएकी छिन्। केके प्रोडक्सन हाउसको ब्यानरमा राजबहादुर सानेको लेखन र निर्देशन तथा कुमार केसीको निर्माणमा बन्ने फिल्ममा उनका साथमा सुशील पोखरेल, प्रिया रिजाल, हिउँवाला गौतम, सयुद राई, नवीन केसी, विमला गुरूङले अभिनय गर्ने बताइएको छ।

युवा–युवतीको कलेज जीवन र अपांगता भएका व्यक्तिको कथा समेटिने फिल्ममा अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण तथा व्यावहारमा सकारात्मक परिवर्तन ल्याउने र अपांगता भएका व्यक्तिमा आत्मविश्वास जगाउँदै उनीहरूमा भएको क्षमता अभिवृद्धि गर्ने विषयवस्तु हुने निर्देशक सानेले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा