Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

ताप्लेजुङ । कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैँचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन् ।

तिब्बत तर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।

ुगत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो,ु गलैँचा व्यवसायी याङ्दी वालुङले भने । एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौँ लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरु समस्यामा पर्ने स्थानीय वालुङले बताए ।

ुविगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरिन्थ्यो, यो वर्ष न गलैँचा बेच्न पाइयो न त खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो,ु वालुङले भने । वर्षेनी जेठदेखि साउन भदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने र आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडै नाका खुल्ला भन्ने आसमा देखिन्छन् । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा