Lite Nepal

बिहिबार, साउन २८, २०७८

इटहरी । मेयर द्वारिकलाल चौधरीले नगरवासीलाई नियमविपरीत कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिका घेराउ गरेको छ । बुधबार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको नेपाली कांग्रेसले स्थानीय नेता, कार्यकर्ताहरुसहित बिहीबार बिहानै उपमहानगरपालिका घेराउ गरेको हो ।

बुधबार दिउँसो इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर मेयर चौधरी हिँडेको र साँझ इटहरी प्रहरीले उनको उद्धार गरेको कांग्रेसको आरोप छ ।

ढकालले ऐलानी जग्गा मिचेर घर बनाएको र नक्सा पाससमेत नगरेको भन्दै मेयर चौधरीले बुधबार दिउँसो कार्यालयमा बोलाएका थिए । सो क्रममा चौधरीले सात दिनभित्र भत्काउने लिखित गर्न भनेको तर आफूले नमानेको ढकालले बताए ।

‘मैले नमानेपछि थुन्देऊ भनेर मेयरले नगर प्रहरीलाई अह्राउनुभयो र थुनेर हिँड्नुभयो,’ उनले भने । ढकालले आफूलाई दुई घण्टादेखि थुनिएको विषयमा जानकारी गराएपछि नेपाली कांग्रेस नगरसभापति हेमकर्ण पौडेललगायतको समूह उपमहानगरपालिका पुगेको थियो । पछि प्रहरीको सहयोगमा उनलाई निकालिएको हो।

यता मेयर चौधरीले भने आफूले बस्दै गर्नु भनेको तर नथुनेको बताएका छन् । बोलाएको समयमा नआएपछि आफू बाहिर निस्कदै गर्दा आएका ढकाललाई कार्यालयमा बस्दै गर्नु भनेको उनले जिकिर गरेका छन् ।

यता नेपाली कांग्रेसले भने मेयर चौधरीको गतिविधि नगरवासीको हितविपरीत भएको भन्दै सशक्त प्रतिरोध गर्ने जनाएको छ । यसअघि मंगलबार मात्रै पनि उनले इटहरी १३ मा निर्माणाधिन रिसोर्टको पर्खाल भत्काएका थिए ।

अनुमति नलिइ संरचना बनाएको र पानीको बहाव छेकेर डुवान भएको भन्दै डोजर र प्रहरीहरु लगेर पर्खाल भत्काइ दिएका थिए । सो क्रममा व्यवसायी तथा सर्वसाधारणहरुले विनाप्रक्रिया एक्कासी भत्काएको भन्दै विरोध जनाएका थिए ।

मेयर चौधरी यसअघि पनि भ्रष्टाचार गर्ने कर्मचारीलाई कुटेको, पत्रकारहरुलाई धम्की दिएको जस्ता घटनाका कारण चर्चामा आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं