Lite Nepal

मंगलबार, मंसिर ०७, २०७८

ताप्लेजुङ । देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समिति (सरकारीद्धारा गठित) मा चालू आव २०७८ को असारमसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबद्र्धन समिति (समुदायस्तरमा गठित) मा ३ करोड ३३ लाख ३५ हजार २ सय ७ रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल ८ करोड संकलित रकम बैंक मौज्दात छ । बैंक मौज्दात रकम तीर्थयात्रीले चढाएको सिक्का पैसा र गरगहनाबाहेक नगद मात्रको विवरण हो ।

यसैबीच पाथीभरा क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार चालू आव २०७८-७९ अन्तर्गत साउनदेखि कार्तिक १५ गतेसम्म संकलन भएको ३८ लाख १२ हजार ५ सय नगद र सिक्का सटहीबाट ८ लाख ६६ हजार रुपैयाँ पनि बैंकमा जम्मा गरेको छ । विगत वर्षदेखि नै संकलन भएको भेटीघाटी तथा सुनचाँदी बिक्री गरेर बैंकमा राखिएको रकममा वर्षेनी संकलन गरेको भेटीघाटी राख्ने गरेकाले वर्षेनी बैंक मौज्दात रकम थपिदै गएको हो । यसैगरी २०७७ भदौ १८ गतेसम्म भक्तजनले चढाएको रिफाइन नगरेको १४ तोला ५७ लाल सुन र २ नम्बरको १४ तोला ४६ लाल सुन लिलाम विक्री गरेर बैंक जम्मा गरेको छ । उक्त सुन लिलाम विक्री गरेवापत ५७ लाख ७४ हजार ६ सय रुपैयाँ संकलन भएको हो । सुनको तयारी गहना ३ तोला ८७ लाल र चाँदी २४ सय ९४ तोला ८९ लाल बिक्री गर्न बाँकी छ ।

 

आव २०७३÷७४ देखि मात्र सरकारद्वारा गठित पाथीभरा क्षेत्र विकास समितिले भेटीघाटी संकलन तथा परिचालन सुरु गरेको हो । आव २०७३÷७४ अगाडी समुदाय स्तरमा गठित समितिले भेटीघाटी संकलन, परिचालन तथा पाथीभरा क्षेत्रका विकासमा काम गर्ने गर्दै आएको थियो । समुदाय स्तरमा गठित समितिको स्थापना २०४७ भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भए तापनि २०४४ सालदेखि नै पाथीभराको विकासमा काम सुरु गरेको थियो । समुदायस्तरबाट गठित समिति र सरकारद्धारा गठित समितिले पाथीभराको काममा तालमेल गर्ने गरेको छ । सुकेटारदेखि काफ्ले पार्टीसम्मका कच्ची सडक ममर्त, काफ्ले पार्टीदेखि धामसम्मको पैदलमार्ग स्तरोन्नती तथा सरसफाइका काम समुदायस्तरबाट गठित समितिले गर्ने गरेको छ ।

आव २०७३-७४ अगाडी भेटीघाटीबाट बचत भएको र हाल पाथीभराको विशिष्ट र आजीवन सदस्य लिनेबाट प्राप्त भएको रकमबाहेक समितिको कुनै पनि आम्दानीको शीर्षक छैन । पाथीभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति अध्यक्ष तारानाथ घिमिरेका अनुसार दाताले कहिलेकाही संरचना निर्माण गर्न भनेर नगद दिने गरेका छन् । अध्यक्ष घिमिरेले भने, “दुईवटा समितिबिच तालमेल नभएको हल्ला साँचो होइन् । एकअर्काबीच समन्वय गरेर पाथीभराको हितमा काम गर्छौं ।”

 

पाथीभराको आन्तरिक आम्दानीले पाथीभरामा खानेपानी पानी आयोजनाका लागि ४१ लाख रुपैयाँसमेत लगानी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । तीबाहेक करारमा नियुक्त १६ जना कर्मचारी तलब, प्रहरी चौकीमा कार्यरत प्रहरीका लागि खाजा खर्च र विविध शीर्षकमा खर्च हुने गरेको छ । गतवर्ष पाथीभरा क्षेत्रमा आगलागी हुँदा आगो निभाउन तथा यातायातका लागि पनि खर्च भएको कार्यकारी निर्देशक काफ्लेले बताए । वार्षिक साढे ३ लाख बढी तीर्थयात्रीले पाथीभराको दर्शन गर्ने गरेको तथ्यांक छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदिमा दर्शन गर्न आउनेको तथ्यांक संकलन गर्ने गरिएको छ । असोज कार्तिक र चैत वैशाखमा अत्यधिक भक्तजन दर्शनका लागि आउने भएकाले उक्त समयमा व्यवस्थापन गर्न कठिन हुन्छ ।

२०७६ साल चैतदेखि कोरोना संक्रमणका कारण यो अवधिमा पटक–पटक मन्दिर दर्शन प्रतिबन्ध गरेकाले भेटीघाटी कम संकलन भएको हो । कोरोना संक्रमण नभएको हुँदो हो त पाथीभरा बर्सेनि वढ्दो दर्शनार्थीका कारण भेटीघाटी संकलनमा वृद्धि हुनेमा शंका छैन् । चालु आव २०७८-७९ मा संकलन हुने नगद, सिक्का र गरगहना आउँदो २०७९ सालको साउन वा भदौमा सार्वजनिक गर्ने समितिले जनाएको छ । (कारोबारदैनिकबाट)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा