ताप्लेजुङ – पाथीभरा माताको नाम लिनसाथ कसको माथ नझुक्ला र ? अनि थोरैमा पनि जीवनमा एक पटक दर्शन गर्ने चाहना सबैको हुन्छ ।
दसैँको छुट्टी होर या अन्य जुनै समय समूद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न जानेको लहर लामै हुन्छ । बिहानदेखि बेलुकासम्ममा दैनिकजसो १ हजारभन्दा धेरैले पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्छन् ।
प्रायः दसैँतिहार र हिउँदे बिदा सदुपयोग गर्नका लागि पाथीभरा दर्शन गर्न जानेहरू भेटिन्छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हुनसक्छ ।
नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रूपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन् । वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ पाथीभरा मन्दिरमा ।
आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न राजधानी काठमाडौँ, विराटनगर, पोखरा, भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरू यहाँ आउने गर्छन् ।
पदयात्रा र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि पनि सुरक्षित र आरामदायी गन्तव्य हुने उनको धारणा छ ।
मनोरम प्राकृतिक वातावरण
पाथीभरासम्मको पदयात्रामा प्राकृतिक सौन्दर्य दुर्लभ जीवजन्तु तथा वनस्पतीको बेजोड संगमस्थल पाइन्छ । पाथीभरा मन्दिर धेरै उचाईमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यसबाहेक राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत २ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जङ्गली जनावर पाइने जानकारहरू बताउँछन् ।
ताप्लेजुङका पत्रकार राजेन्द्र श्रेष्ठका अनुसार यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटी पाइन्छ ।
उदाउँदो र अस्ताउँदो घामको दृश्यावलोकन, जैविक विविधता अनुसन्धाताहरूका लागि प्राकृतिक संग्रालयका रुपमा यो क्षेत्र मानिन्छ ।
विशेषता र किम्बदन्ती
पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ । यसको अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन रहेको छ ।
देवीको उत्पतिसम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरू हराएपछि उनी चिन्तित भएका थिए ।
राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए । त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको धार्मिक मान्यता छ ।
परम्परागत मान्यता अनुसार ‘आफ्नो मनोकांक्षा पूरा गराउने’ भनेर परिचित यहाँ नौरथा सुरु भएपछि दर्शनार्थीहरूको घुइँचो लाग्छ । यहाँ पशुबली अनिवार्य नभए पनि दर्शनार्थीहरूले बली चढाउन सक्छन् ।
यात्रा कसरी सुरक्षित हुन्छ ?
पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेकाले तापमान प्रायः शुन्य डिग्रीमा हुन्छ । टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु पर्दैन । त्यस्तो विभिन्न हिमाली फूलहरूको बासनाका कारणले हुनसक्छ ।
दर्शनार्थीहरूले लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्रीहरू तातोपानी, भुटेका मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू बोक्नुपर्छ ।
आवश्यक पर्ने सामग्री
क्यामरा, मोबाइल, औषधि, लौरो ।
गन्तव्य
सडक मार्ग २ सय ३७ किलोमिटर रहेको छ । ताप्लेजुङको पाथीभरा विभिन्न मार्ग हुँदै पुग्न सकिन्छ । झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्म पुग्न १ हजार देखि १५ सय रुपैयाँ भाडा लाग्छ ।
फुङलिङ बजारबाट सानोफेदीसम्म पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ । त्यसपछि करिब २ घण्टाका पाथीभरा पुग्न सकिन्छ ।
हवाई मार्ग
काठमाण्डौंदेखि ताप्लेजुङ ।
विराटनगरदेखि ताप्लेजुङ सुकेटार ।
होटल तथा लज
सानोफेदी, ठूलोफेदी लगायतका स्थानमा खाना छाकको २ सयदेखि २ सय ५० सम्म रुपैयाँ र लजका लागि ५ सय रुपैयाँसम्म तिर्नु पर्छ । साथै, याक, चौँरी, गाई, भैँसी र भेडाको दही, घिउ लगायतको परिकार पाउन सकिन्छ ।