Lite Nepal

मंगलबार, मंसिर २०, २०७९

विराटनगर – प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टी (जसपा) समानुपातिक मतका आधारमा प्रदेश १ मा सरकार बनाउन निर्णायक हुने देखिएको छ । समानुपातिकतर्फ ल्याएको ६१ हजार ७२३ मतका आधारमा जसपाले पाउने एउटा सिट सरकार निर्माणमा निर्णायक बन्ने भएको हो । यद्यपि समानुपातिकबाट सांसद चयन हुने प्रक्रिया बाँकी नै छ । नेकपा (एमाले) सँग तालमेल गरेर मंसिर ४ गतेको निर्वाचनमा भाग लिएको जसपा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकबाटै निर्णायक बनेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि चुनावसम्मका लागि मात्रै एमालेसँग तालमेल गरिएको बताइसकेका छन् ।

उनले एमालेसँगको सहकार्य सकिएको बताएपनि जसपाले सरकार बनाउन कसलाई सघाउँछ भन्ने निर्णय गरिसकेको छैन । यदि जसपा अध्यक्ष यादवले गठबन्धन फेर्ने उदेश्यले उक्त अभिव्यक्ति दिएका हुन् भने प्रदेश १ मा सरकार बनाएर नेतृत्व लिन एमालेले गरिरहेको प्रयास असफल हुने देखिन्छ । हुन त चुनावमा एमालेसँगै तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकार निर्माणमा कसलाई साथ दिने भन्ने आधिकारिक निर्णय गरिसकेको छैन । तर अपेक्षा एमालेले गरेको छ । उता नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले पनि निर्वाचनमा एमालेसँग गरेको तालमेलका कारण सरकार बनाउन राप्रपाले आफूलाई सहयोग नगर्ने ठानेको छ ।

प्रत्यक्षतर्फ २ सिट जितेको राप्रपाले समानुपातिकबाट ४ सिट पाउने सम्भावना छ । समानुपातिकतर्फ राप्रपाले १ लाख ९८ हजार ५११ मत पाएको थियो । राप्रपाले साथ दिँदा पनि एमालेलाई बहुमतको सरकार निर्माणमा १ सिटको आवश्यक पर्छ । त्यो सिट जसपासँग हुने छ ।
प्रत्यक्ष र समानुपातिकबाटै प्रदेश १ मा एमाले ठूलो दल बनेको छ । ५६ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ २५ सिट जितेको एमालेले समानुपातिकातर्फ सबैभन्दा धेरै ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको थियो । मतका आधारमा एमालेले १५ जना समानुपातिक सांसद पाउने सम्भावना छ । त्यसो हुँदा एमालेको सिट संख्या ४० पुग्छ ।

बहुमतको प्रदेश सरकार निर्माणका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपाका गरेर ४६ सांसद हुने छन् । जसपा मिसिँदा मात्रै ४७ पुग्छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको कांग्रेसले समानुपातिकबाट ५ लाख ६२ हजार ९५६ मत पाएको थियो । मतका आधारमा कांग्रेसले १२ जना समानुपातिक सांसद पाउने देखिन्छ । त्यसो हुँदा कांग्रेससँग २९ जना सांसद हुने छन् । प्रत्यक्षबाट ९ सिट जितेको नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १ लाख ८१ हजार २४५ मत पाएको थियो । माओवादीले ४ जना समानुपातिक सांसद पाउने सम्भावना छ ।
प्रत्यक्षतर्फ ३ सिट जितेर आएको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ ५५ हजार ९९७ मत पाएको थियो । समाजवादीले १ जना समानुपातिक सांसद पाउने देखिन्छ । प्रदेशमा जम्मा माओवादीसँग १३ र समाजवादीसँग ४ जना सांसद हुने छन् ।

कांग्रेसको २९, माओवादीको १३ र समाजवादीको ४ गरेर सत्तारुढ गठबन्धनको पनि सिट संख्या ४६ मात्रै पुग्छ । सत्तारुढलाई पनि सरकार निर्माणका लागि जसपाले पाउने एउटा सिटकै आवश्यक पर्ने देखिन्छ ।

जसपा मोरङका अध्यक्ष एवं प्रदेश १ का उपाध्यक्ष राजकुमार यादव सरकारमा कसलाई समर्थन गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको बताउँछन् । ‘सरकार निर्माणमा साथ दिने विषयमा पार्टीमा छलफल हुन्छ । यो कुरा केन्द्रले टुंगो लगाउँछ,’ उनले भने, ‘चुनावमा एमालेसँग तालमेल गर्दा जनताले पत्याएनन् । एमालेबाट पनि अलिअलि धोका भएकै हो ।’ तर सरकारमा कसलाई समर्थन गर्ने भन्ने यकिन भइनसकेको यादव बताउँछन् ।

राप्रपा प्रदेश १ का सचिव भरत पोखरेलले सत्ता समीकरणका विषयमा केही पनि कुरा नभएको बताए । ‘अरु दलसँग बसेर छलफल नगरिकन निस्कर्ष निस्कँदैन । यस विषयमा केन्द्रकै निर्णयको पर्खाइमा छौँ,’ उनले भने, ‘पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको परामर्शबिना हामी केही गर्न सक्दैनौँ । जसपा पछि हट्यो भने हामीले मात्रै साथ दिएर पनि एमालेले सरकार बनाउन सक्दैन ।’
उपेन्द्र यादव नेतृत्वको जसपासँग सहकार्य भयो भने मात्रै राप्रपाले पनि एमालेलाई साथ दिने सम्भावना रहने पोखरेलले बताए । भने, ‘जसपा सामेल नहुँदा हामीले मात्रै साथ दिएर एमालेले सरकार बनाउन सक्दैन ।’

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा प्रदेश सरकार कसको नेतृत्वमा बन्छ भन्ने कुरा यकिन हुन बाँकी रहेको बताउँछन् । ‘सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धनभित्रै छलफल र संवाद भइरहेको छ । गठबन्धनभित्रै कुरा टुंगिएको छैन,’ उनले भने, ‘ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भनेर हामी लागेका छौँ । जसपाले एमालेसँगको गठबन्धन तोड्यो भने केही सहज हुने देखिन्छ ।’

थापाले जसपाको साथ पाउनेले सरकार बनाउने, तर त्यस बारेमा केन्द्रले निर्णय लिने बताए । कांग्रेस वा सत्तारुढ कुनै दलको नेतृत्वमा सरकार बन्नका लागि एमालेसँगको गठबन्धन तोड्ने निर्णय जसपाले लिनुपर्ने उनको भनाइ छ । ‘सरकार बनाउन हामीलाई थोरै आश जसपाको हो । चुनावी तालमेलका कारण जितेर आएकाले राप्रपाले एमालेसँगको गठबन्धन तोड्ने अवस्था देखिँदैन,’ उनले भने ।
एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपाने चुनावी तालमेलका कारण सरकार निर्माणमा राप्रपा र जसपाबाट सहयोगको अपेक्षा गरिएको बताउँछन् । ‘जसपाले सहयोग नगरेमा एमाले नेतृत्वमा सरकार बनाउन गाह्रो हुन्छ,’ उनले भने, ‘यस कुरालाई पार्टीहरु बीचमा छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्ने देखिन्छ ।’

प्रदेशमा पहिलो दल भएकाले एमालेको नेतृत्वमा सरकार बनाउने तयारी भने गरिएको न्यौपानेले बताए । ‘चुनावमा हाम्रो साथ पाएर जितेका शक्तिले सहयोग गर्छन् भन्ने अपेक्षा छ,’ उनले भने, ‘वार्ता र छलफलबाट यो कुरा टुंगो लगाइने छ ।’ न्यौपानेले एमालेकै नेतृत्वमा सरकार बन्ने हुँदा कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय पनि पार्टीले गर्न बाँकी रहेको जानकारी दिए ।

तर, एमालेबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा झापा क्षेत्र नम्बर ५ को ‘ख’बाट निर्वाचित भएका हिक्मत कार्की देखिएका छन् । एमाले नेता कार्की प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।

कांग्रेसबाट अमृत अर्याल, भीम पराजुलीलगायत मुख्यमन्त्रीका दाबेदार छन् । माओवादीले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने देखिन्छ । समाजवादीको भागमा परेमा भने हालकै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई पुनः दोहोर्‍याउने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा