को हुन् क्षितिज थेबे ?

ताप्लेजुङबाट उदाएका युवा राजनीतिक नेतृत्व

Lite Nepal

आइतबार, फाल्गुण २४, २०८२

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित युवा नेता क्षितिज थेबे नेपाली राजनीतिमा उदाउँदै गरेको प्रभावशाली अनुहार हुन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १३ हजार ९ सय ६२ मत प्राप्त गर्दै विजयी भए । अधिकांश स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा ताप्लेजुङका मतदाताले भने क्षितिजलाई नै मन पराए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरेका थिए । कुल खसेको ४६ हजार ४ सय ७४ मतमध्ये क्षितिजले २ हजार २ सय ५१ मत अन्तरले जित हासिल गरेका हुन् ।

क्षितिज थेबे ताप्लेजुङको पुरानो राजनीतिक परिवारबाट आएका नेता हुन् । उनको परिवारमा पुस्तौंदेखि राजनीति र जनप्रतिनिधित्वको परम्परा रहेको छ । उनकी आमा उर्मिला थेबे २०७९ पुस ७ गतेदेखि प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् र गत भदौ २५ गतेसम्म सो पदमा कार्यरत थिइन् ।

भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनपछि उनको सांसद पद समाप्त भएको थियो । तर, त्यसको करिब छ महिनापछि ताप्लेजुङका मतदाताले सोही पदमा उनका छोरा क्षितिज थेबेलाई प्रत्यक्ष निर्वाचनबाट विजयी बनाए । स्थानीय मतदाताको प्रतिक्रिया थियो, ‘बाँसको झ्याङमा बाँस नै उम्रन्छ । उनी राजनीतिक व्यक्तित्व हुन् ।’

क्षितिजका बुबा भूपेन्द्र थेबे पनि सक्रिय राजनीतिज्ञ हुन् । उनी २०७० मंसिर ४ गते सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसकी लिलादेवी बोखिमलाई १ सय ३९ मतले पराजित गरेका थिए । यसरी बाबु भूपेन्द्र र छोरा क्षितिज दुवैले प्रत्यक्ष निर्वाचनबाट संसद् पुग्ने इतिहास बनाएका छन् ।

भूपेन्द्र थेबे २०३७ सालदेखि राजनीतिमा सक्रिय छन् । उनले २०४३ सालमा सिनाम गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए भने २०४९ र २०५४ सालमा दुई पटक तत्कालीन सिनाम गाविसका अध्यक्ष बने । संविधानसभा सदस्य बनेपछि उनले नेकपा एमाले ताप्लेजुङको जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

क्षितिजकी आमा उर्मिला थेबे पनि स्थानीय तहदेखि संघीय संसदसम्म पुगेकी जनप्रतिनिधि हुन् । पाँचथरबाट विवाह गरेर ताप्लेजुङ आएकी उनी २०७४ सालको स्थानीय तह निर्वाचनबाट सिरिजङ्गा गाउँपालिका–१ सिनामकी वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । उनी नेकपा एमालेकी निवर्तमान केन्द्रीय सदस्यसमेत हुन् ।

थेबे परिवारको राजनीतिक विरासत अझ पुरानो छ । क्षितिजका बाजे मनप्रसाद थेबे २०२४ देखि २०३२ सालसम्म सिनाम गाउँ पञ्चायतका प्रधानपञ्च थिए भने जिजुबुबा भीमबहादुर थेबे २०१७ देखि २०२४ सालसम्म सोही पदमा कार्यरत थिए । यसरी पञ्चायतकालदेखि गणतन्त्रकालसम्म सिनाम क्षेत्रको नेतृत्व एउटै परिवारका विभिन्न पुस्ताले सम्हाल्दै आएको इतिहास रहेको छ ।

क्षितिज थेबे २०४४ साल मंसिर २७ गते सिरिजङ्गा गाउँपालिका–१ सिनाममा जन्मिएका हुन् । गाउँकै सिनाम माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं पुगे । उनले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

राजनीतिक परिवारमा हुर्किएका कारण उनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । उनले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट सक्रियता प्रारम्भ गरेका थिए । विद्यार्थी राजनीति हुँदै उनी युवा राजनीतिमा स्थापित भए । उनी युवासंघ नेपालको केन्द्रीय अध्यक्षसमेत बनेर देशभरका युवालाई संगठित गर्ने अभियानमा सक्रिय रहे । संगठनात्मक योगदानका कारण नेकपा एमालेको ११औं महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

चुनावी प्रतिस्पर्धामा पनि उनी सबैभन्दा कान्छा उम्मेदवार थिए । १३ दलका १३ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा ३८ वर्षीय क्षितिज सबैभन्दा युवा उम्मेदवार बने । उनका प्रतिस्पर्धीमध्ये ६६ वर्षीय सूर्य तमु गुरुङसम्म प्रतिस्पर्धामा थिए ।

चुनावी अभियानका क्रममा उनले विकास, पूर्वाधार, खानेपानी, सिँचाइ र सडक सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै चीन र भारतसँग सिमाना जोडिएको रणनीतिक महत्वको जिल्ला भएकाले अन्तरदेशीय सम्बन्ध र आर्थिक सम्भावनालाई बलियो बनाउने गरी काम गर्ने उनको भनाइ छ ।

संघीयतापछि ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित हुने उनी तेस्रो सांसद हुन् । २०७४ सालको निर्वाचनमा योगेश भट्टराई विजयी भएका थिए भने २०७९ को निर्वाचनमा पनि उनी नै पुनः निर्वाचित भएका थिए । त्यसपछि २०८२ को निर्वाचनमा क्षितिज थेबे ताप्लेजुङको प्रतिनिधित्व गर्दै संसद् पुगेका हुन् ।

युवा ऊर्जा, संगठनात्मक अनुभव र पुस्तौंदेखिको राजनीतिक विरासत बोकेका क्षितिज थेबे ताप्लेजुङको विकास र समृद्धिका लागि आशा गरिएका नेतृत्वमध्ये एक मानिन्छन् । आगामी दिनमा जिल्लाको पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा उनीप्रति गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा