काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तापछि दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने सहमति भएको छ ।
चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुवै नेताले आगामी तीन वर्ष तथा दीर्घकालीन अवधिसम्म अमेरिका-चीन सम्बन्धलाई “रचनात्मक, रणनीतिक र स्थिर” ढाँचामा अघि बढाउने समझदारी गरेका हुन् ।
यद्यपि अमेरिकी पक्षले हालसम्म उक्त भेटवार्तासम्बन्धी आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
विश्लेषकहरूका अनुसार यस पटक प्रयोग गरिएको नयाँ शब्दावलीले विगत केही वर्षयता उतारचढावपूर्ण रहँदै आएको द्विपक्षीय सम्बन्धलाई व्यवस्थित, पूर्वानुमानयोग्य र सीमित प्रतिस्पर्धासहितको सहकार्यतर्फ लैजाने संकेत गरेको छ ।
राष्ट्रपति सी जिनपिङले ‘रचनात्मक रणनीतिक स्थिरता’ को अवधारणालाई सहकार्यमा आधारित सकारात्मक सम्बन्ध, व्यवस्थापनयोग्य प्रतिस्पर्धा, नियन्त्रणयोग्य मतभेद र दीर्घकालीन पूर्वानुमानयोग्य शान्तिको संयोजनका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार उक्त अवधारणा केवल राजनीतिक घोषणा नभई दुवै पक्ष समान उद्देश्यतर्फ व्यवहारिक रूपमा अघि बढ्ने आधारसमेत हुनुपर्नेछ ।
