काठमाडौं । राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसीआचार्यलगायतलाई प्रतिवादी बनाइएको स्रोतले जनाएको छ। उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले मुद्दामा विभागका कर्मचारी, निजी कम्पनी तथा विदेशी पक्षसमेतलाई प्रतिवादी बनाएको छ। आयोगका अनुसार १० जना कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिविरुद्ध अभियोगपत्र दायर गरिएको हो।
राहदानी छपाइका लागि गरिएको खरिद तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय तथा कार्यसम्पादन भएको निष्कर्षसहित आयोगले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको भएपनि दायर गरिएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन।
विशेष अदालतले अब अभियोगपत्र दर्तापछि प्रतिवादीहरूलाई उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाउनेछ। मुद्दाको अन्तिम टुंगो अदालतको फैसला पछि लाग्नेछ।
राहदानी छपाइसँग सम्बन्धित यो प्रकरण हालसम्म सार्वजनिक निकायको खरिद प्रक्रियासँग जोडिएका उच्च मूल्यका भ्रष्टाचार मुद्दामध्ये एक मानिएको छ। अख्तियारले अनुसन्धानपछि ठूलो परिमाणको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।