काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जनाएका छन् ।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी र विद्यार्थीहरूमाथि गरिएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यसको जानकारी दिएका हुन् ।
बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको उनले प्रस्टोक्ति दिएका छन् । नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको र यो नियमित प्रक्रिया अनुसार नै भएको उनको भनाई छ ।
मन्त्री पोखरेलले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन्।