Lite Nepal

बुधबार, आषाढ १७, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर रु. २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु. ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु. ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोमिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु. १०० कटौती गरिएको छ ।

नयाँ मूल्य सूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु. १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु. २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु. १९४.५० र डिजेल प्रतिलिटर रु. १९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १९६ र डिजेलको मूल्य रु. १९४ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक)को नयाँ मूल्य प्रतिलिटर रु. २२९ कायम भएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोमिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु. दुई हजार ०६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु. दुई हजार १६० रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं