काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका विभिन्न प्रशासनिक, नीतिगत तथा कानुनी निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। साथै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्का नियुक्त भएका छन्।
बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
त्यसैगरी, अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद् पेस गर्न स्वीकृति दिइएको छ। समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न पनि सरकारले स्वीकृति प्रदान गरेको छ।
बैठकले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई पनि स्वीकृति दिएको सरकारका प्रवक्ताले बताए।