Lite Nepal

बिहिबार, आषाढ २५, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा वडा सचिवका रूपमा कार्यरत हिरालाल काफ्लेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार काफ्लेले भारतको आसामस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन असमबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको भन्दै पेश गरेको शैक्षिक प्रमाणपत्र अनुसन्धानबाट झुट्टा तथा नक्कली देखिएको हो।

उक्त प्रमाणपत्रकै आधारमा काफ्लेले विभिन्न सरकारी पदमा नियुक्ति, स्थायी नियुक्ति, बढुवा तथा तह वृद्धि लिई सरकारी सेवा सुविधा प्राप्त गरेको आयोगको दाबी छ।

अनुसन्धानअनुसार काफ्लेले २०५७ सालमा अर्जुनचौपारी गाउँ विकास समितिको कार्यालयमा अस्थायी कार्यालय सहायक पदमा नियुक्ति पाएका थिए। त्यसपछि २०६४ सालमा कार्यालय सहायक खरिदार पदमा नियुक्ति, २०६७ सालमा सहायक स्तर तेस्रो तह कार्यालय सहायक (मुखिया) पदमा स्थायी नियुक्ति, २०७२ सालमा सहायक स्तर चौथो तह खरिदारमा बढुवा र २०७९ सालमा सहायक स्तर पाँचौँ तहमा तह वृद्धि भएको आयोगले जनाएको छ।

आयोगले काफ्लेले योग्यता नपुगेको अवस्थामा झुट्टा प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी पद, अधिकार र आर्थिक लाभ प्राप्त गरेको आरोप लगाएको छ।

उनले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार कसुर गरेको भन्दै सोही कानुनी व्यवस्थाअनुसार सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं